+
Search

ताजा अपडेट +

पपुलर +

उद्योगमन्त्रीलाई नाडाले दियो ६ बुँदे लिखित सुझाव

पालिका लाइभ
२०८१ चैत्र १२, मंगलवार १९:१६ बजे

काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेट गरी लिखित सुझाव पेस गरेको छ।

अध्यक्ष करण चौधरीको नेतृत्वमा सोमबार गएको नाडा टोलीले उद्योगमन्त्री भण्डारीसँग भेट गर्दै ६ बुँदे लिखित सुझाव दिएको हो।

छलफलमा अध्यक्ष चौधरीले भारतीय मालवाहक साधनहरूको नेपालमा निर्बाध प्रवेशले नेपालका मालवाहक साधनहरूको व्यवसायमा ठुलो असर परिरहेको, देशमा नेपालकै उत्पादनले बजार पाउने वातावरण हुनुपर्ने, लुब्रिकेन्ट्स उद्योगका नाममा फिनिस्ड गुड नै नेपालमा ल्याएर बिक्री वितरण भइरहेकोले यसलाई रोक्नुपर्ने बताएका थिए।

चौधरीले नेपालमै टायर उद्योगहरू खोलिए पनि त्यसका लागि स्ट्यान्डर्डको व्यवस्था नभएको जिकिर गर्दै बुट मोडेलमा बाह्य लगानी नेपालमा ल्याउन सम्भव रहेको उल्लेख गरेको नाडाले जनाएको छ। उक्त छलफलको क्रममा अध्यक्ष चौधरीले सरकारले देशका उद्योगी व्यवसायीहरूको लागि आफ्नो देशमै उद्योग व्यवसाय गरेर आयआर्जन गर्न सकिने वातावरण निर्माणका लागि समेत आग्रह गरेका थिए।

यसैक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले एजेन्सी दर्तासम्बन्धी ऐन अहिलेसम्म पारित नहुँदा सवारी साधन पैठारीकर्ताहरूलाई ठुलो समस्या भइरहेकोले सो ऐन छिट्टै पारित गर्न आग्रह पनि गरे। नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालका ब्याट्री उद्योगहरूको अवस्थाबारे समेत जानकारी दिँदै हाल बन्द रहेको गोरखकाली रबर उद्योगलाई हालको ठाउँबाट कुनै उपयुक्त स्थानमा स्थानान्तरण गरी सञ्चालन गर्न सकिने र त्यस ठाउँलाई सेजको रूपमा प्रयोग गर्न सकिने धारणा राखेका थिए।

मन्त्री भण्डारीले नेपालको उद्योग व्यवसायको स्थितिबारे विना कुनै जानकारी संसदमा प्रश्न उठ्ने गरेको गुनासो गर्दै सरकारले खुल्ला बजार अर्थनीति अवलम्बन गरिरहेको बताएका थिए। उनले खुल्ला बजार अर्थतन्त्रमा ७०० प्रतिशतसम्म पनि मुनाफा गर्न सकिने बताउँदै नाडाका सुझावहरू राजस्व परामर्श समितिमा पठाउन अनुरोध समेत गरे।

मन्त्री भण्डारीले एजेन्सी दर्तासम्बन्धी नयाँ ऐन अहिलेसम्म पारित नभएको सन्दर्भमा तत्कालै सम्बन्धित मन्त्रालयबाट जानकारी लिँदै सो ऐन छिट्टै पारित हुने बताए।

नेपालमा उद्योग व्यवसायको समुचित उत्थानका लागि उपयुक्त वातावरण सिर्जना गर्न आफू दत्तचित्त भएर लागिरहेको उनकाे दाबी छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ