काठमाडौं– नेपाल राष्ट्र बैंकको गभर्नरको रेसमा रहेका नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएका छन्।
सरकारले सोमबार साँझ गभर्नर सिफारिस समिति बनाएपछि ढुङ्गानाले राजीनामा दिएका हुन्।
बैंकको सञ्चालक समितिले राजीनामा स्वीकृत गरिसकेको छैन। एनबी (नेपाल बङ्गलादेश बैंक) बैंक नबिलमा मर्ज हुने भएपछि उनी दुई वर्षको पहिलो कार्यकालका लागि नियुक्त भएका थिए। त्यसपछि पुनः अर्को दुई वर्षको अर्को कार्यकालका लागि नियुक्त भएका थिए।
नेपाली कांग्रेसले गभर्नर पाउने भएमा ढुङ्गाना पनि बलियो उम्मेदवार हुन्।
सरकारले सोमबार अर्थमन्त्री विष्णु पौडेल संयोजक हुने समितिमा डा. विश्व पौडेल र विजयनाथ भट्टराईलाई सदस्य चयन गरेको छ।
समितिले तीन जनाको नाम सिफारिस गर्ने छ। त्यसबाट मन्त्रीपरिषद्ले एक जनालाई पाँच बर्षका लागि गभर्नर नियुक्त गर्ने छ।
ढुङ्गानाले गभर्नर रेसमा अग्रस्थानमा रहेका कारण राजीनामा गरेका हुन्।
कांग्रेसका तर्फबाट राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, पूर्व कार्यकारी निर्देशक तथा वर्तमान सञ्चालक रवीन्द्र पाण्डे पनि प्रतिस्पर्धामा छन्।
एमालेबाट योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन पनि उम्मेदवार छन्।
प्रतिक्रिया