+
Search

ताजा अपडेट +

पपुलर +

स्थानीय तहका कुरा

भैरहवामा फुटपाथमा पार्किङ, टर्न निषेधमा गाडी निरन्तर प्रवेश

पालिका लाइभ
२०८१ चैत्र ११, सोमबार १३:१७ बजे

भैरहवा– पैदलयात्रु निर्बाध आवागमनको सहजताका लागि फुटपाथ प्रयोग गरिए पनि रुपन्देहीको भैरहवामा यसको विपरीत फुटपाथलाई पार्किङको रूपमा प्रयोग गरिएको छ ।

सडकमा सवारी साधनको चाप दिन प्रतिदिन बढ्दै गए पनि पार्किङ स्थलको व्यवस्थापन हुन नसक्दा भैरहवा अस्तव्यस्त हुँदै गएको छ । भैरहवाको बुद्धचोक देखि बर्मेली टोलको पश्चिम तर्फको सर्भिस रोड पार्किङ निषेध गराई फुटपाथमा पार्किङ गराइएको छ ।

केवल पैदल यात्रुको सहजताका लागि बनाइने फुटपाथमा यहाँ मोटरसाइकलहरू क्रमबद्ध रूपमा पार्किङ गरी राखिएको छ । पछिल्लो केही दिन देखि फुटपाथ खाली गराउने र अव्यवस्थित पार्किङमा कडाइ गर्दै आएको सिद्धार्थनगर नगरपालिका र ट्राफिक प्रहरीले फुटपाथमै पार्किङ गर्दा भने रमिते बनेको छ ।

सिद्धार्थनगर नगरपालिकाले पछिल्लो केही दिन देखि नगर प्रहरीको प्रयोग गर्दै सिद्धार्थनगरको सडक पेटी अतिक्रमणलाई हटाउने अभियान गर्दैछ । नगरपालिकाले फुटपाथलाई व्यवस्थित गरी पैदल यात्रुको सहजताका लागि यो अभियान सुरु गरेको छ ।

भैरहवाको मुख्य बजार बैंक रोड, गल्लामण्डी, मैत्री पथ, नयाँ सडक, नारायण स्थान लगायतको सडकहरूमा दैनिक नगर प्रहरीले फुटपाथ खाली गराउँदै राखिएको सामान समेत नियन्त्रणमा लिई कारबाही गरेका छन् ।

सडक पेटी खाली गर्ने अभियानले थुप्रै व्यवसायीहरू कारबाहीको दायरामा आई जरिवाना समेत दिँदा नगरपालिकाले बुद्धचोक नजिकै राखेको फुटपाथको पार्किङको विषयमा केही गर्न सकेको छैन ।

नगरपालिकाको समन्वयमा नै केही समयका लागि फुटपाथमा पार्किङ गरिएको हो, अल्पकालिक रूपमा यस क्षेत्रको पार्किङको लागि फुटपाथ प्रयोग गर्ने भनिए पनि ३ वर्ष बित्दा समेत यसलाई निरन्तरता दिँदै फुटपाथमै पार्किङ गरिरहेको छ ।

फुटपाथ सहित सर्भिस रोडमा समेत जथाभाबी पार्किङ गर्दा पैदल यात्रीलाई समस्या भएको सामाजिक अगुवा विजय सागर श्रेष्ठले बताए । यसरी जथाभाबी पार्किङ गर्दा र एउटा लेनमा चल्नुपर्ने साधन उल्टो लेनमा चल्दा दुर्घटनाको जोखिम धेरै भएको उनले बताए ।

सिद्धार्थनगर बैक रोडका व्यवसायीहरूले नगर प्रहरीले ज्यादती गरेको बताएका छन् । दादागिरी शैलीमा फुटपाथको मात्रै होइन पसल भित्रको सामान पनि गाडीमा हालेर लगेको गुनासो गरेका छन् ।

झामझुमे सामान उठाएर गाडीमा हालिएको छ यो गलत ढंगले नगर प्रहरीहरू लागेको व्यवसायीहरूले बताएका छन् । उनीहरूले के के सामान लग्यो भन्ने पनि आफूहरूलाई थाहा नभएकोले जरिवाना पछि कसरी चिनेर ल्याउने भन्ने पनि दुबिधा भएको बताए ।

भैरहवामा प्रवेश निषेध गरेको क्षेत्रमा सवारीसाधन निरन्तर प्रवेश गर्दा समेत ट्राफिक प्रहरी मूकदर्शक भई बसेको छ । भैरहवाको बर्मेली टोलमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले उत्तर तर्फ जाँदा दायाँ टर्न निषेध गरेको छ । ट्राफिक व्यवस्थापनका लागि डिभाइडर हटाएर राखिएको बुद्ध चोकबाट आउने सवारीसाधनलाई सजिलै नारायण पथ र दायाँ सर्भिस रोड जाने सहजताका लागि उक्त टर्न खोलिए पनि त्यसको विपरीत दिशाबाट गएको सवारीसाधन पनि सहजै त्यो बाटोको प्रयोग गरिरहेको छ ।

सबैले देखिने गरी राखिएको ट्राफिक चिन्हलाई बेवास्ता गर्दै आम सर्वसाधारण गलत बाटो प्रयोग गरिरहेका छन् । प्रवेश निषेधको चिन्ह लाई नजरअन्दाज गरी सवारीसाधन आगमनले दुर्घटनाको उच्च जोखिम छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले टर्न खोल्दा केही समय प्रहरी खटाए पनि अहिले ट्राफिक प्रहरीको ड्युटी नै हटाइएको छ ।

यस्तै भैरहवा क्षेत्रको राजमार्गमा ट्राफिक व्यवस्थापनका लागि बुद्धचोक र देवकोटा चोकमा रहेको ट्राफिक लाइट नियमित रूपमा नचल्दा दुर्घटनाको उच्च जोखिममा छ । स्वचालित रूपमा २४ घण्टा बल्नुपर्ने ट्राफिक बत्ती कहिले बल्ने र कहिले नबल्दा चालकहरू झुक्किएर झन् दुर्घटनाको जोखिम बढेको छ ।

ट्राफिक लाइटले काम नगर्दा ट्राफिक व्यवस्थापन स्वचालित नहुने र चालक आफ्नै सुरमा गाडी हाँक्ने गरेका छन् । बेलाबखत सडकमा भएको ट्राफिक प्रहरीले हातको इशाराले संकेत गरे पनि ड्युटीमा भएको प्रहरी पनि छेउमा मोबाइल चलाउँदै र कुराकानीमै मस्त हुन्छन् ।

रुपन्देहीको भैरहवामा यी मात्रै होइनन् नम्बर प्लेट अस्पष्ट भएको छरपस्ट देखिन्छ, हाइवेमा ई रिक्सा, भन्सार र सुविधा विनाका भारतीय गाडीको निर्बाध प्रयोग, बसपार्कबाट छुट्नु पर्ने गाडी चोक र सर्भिस रोड बसपार्कको रूपमा परिणत जस्ता कार्यले भैरहवामा ट्राफिक प्रहरी नै नभएको अनुभूति भइरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले रुपन्देहीका निमित्त प्रमुख वरिष्ठ सई ज्ञानेन्द्र शर्माले समग्र ट्राफिक व्यवस्थापनका लागि नियमित रूपमा चेकजाँच र नियम विपरीत गरेकालाई कारावहीको दायरामा ल्याएको बताए ।

हाइवेमा चल्ने ई रिक्सा र भन्सार विना आएका विद्युतीय गाडीहरूलाई कारबाहीको दायरामा ल्याएका छौ, हिजो मात्रै ४५ वटालाई कारबाही गरेका छौ भने, फुटपाथमा भएको पार्किङको विषय केही दिनमा समाधान हुने बताए । यस्तै प्रत्येक दिन अपरेसन गरेका छौ, राइट टर्न निषेधमा सवारीसाधनको प्रवेश भएको पाइएकोले ड्युटी खटाएर त्यसलाई नियमन गर्ने वरिष्ठ सई शर्माले भने । उनले एकै पटक सबै काम नहुने बताउँदै अबको एक हप्ता पछि नतिजा देखिने परिवर्तन हुने उनले दाबी गरे ।

नगर प्रहरीको विषयमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले नगर प्रहरीद्वारा नगरपालिकाभित्र बजार क्षेत्रमा जथाभाबी रूपमा गरिएको पार्किङ, सडक क्षेत्रमा अव्यवस्थित रूपमा राखिएका होर्डिङ बोर्ड, हेलमेट तथा सडक पेटीमा राखिएका सामग्रीहरूलाई हटाउने तथा नियन्त्रणमा लिने कार्यलाई तीव्र रूपमा अगाडि बढाएको बताए ।

फुटपाथमा गरिएको पार्किङको विषयमा पनि नगरपालिका सचेत छ, नगरवासीको सहजताका लागि नै नगरपालिकाले अभियान चलाएको छ । ई रिक्सा, फोहोर मैला, फुटपाथ खाली गराउने पार्किङ लगायतको विषयमा नगर प्रहरी लागेको छ । छाडा चौपाया, ई रिक्सा व्यवस्थापनको विषय चुनौती रहे पनि बिस्तारै सहज हुँदै गएको छ भने पोहोर मैलाको विषयमा सर्वसाधारणले जथाभाबी फोहोर फाल्नेलाई कारबाहीको दायरामा ल्याउने बताए ।

नगरवासीको सहजताको लागि नै गरेकोले नगरवासी, व्यवसायी र सबै सम्बन्धित पक्षलाई यस कार्यमा सहयोग गरी नगर क्षेत्र सफा, सुरक्षित र व्यवस्थित राख्न योगदान गर्न आग्रह गरे ।

-मोहम्मद हबिब

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ