+
Search

ताजा अपडेट +

पपुलर +

अबको बीमा क्षेत्र

बीमा प्राधिकरणका निर्देशनलाई एकीकृत गर्दैछौं : अध्यक्ष ओझा

पालिका लाइभ
२०८१ चैत्र १०, आईतवार १३:३८ बजे

काठमाडौं– नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रमा दाबी भुक्तानी र मिस सेलिङको समस्या अझै रहेको बताएका छन् ।

आइतबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले अन्डराइटिङको समस्यालाई प्रभावकारी रूपमा समाधान गर्न नसकेका कारण बीमा दाबी भुक्तानी र मिस सेलिङको समस्या देखिएको बताएका हुन् ।

यी समस्याहरूबारे प्राधिकरणमा छलफल समेत भइसकेको बताउँदै दीर्घकालिक समाधानको उपाय खोजी भइरहेको उनको भनाइ छ । अध्यक्ष ओझाले बीमा कम्पनीहरूलाई छरिएर रहेका निर्देशनहरूलाई एकीकृत गरेर जारी गर्ने तयारी रहेको समेत बताए ।

बीमा कम्पनीहरूले भोगिरहेका समस्या समाधान र बीमा उद्योगलाई दिगो रूपमा विकास गर्न सहजता प्रदानको लागि एकीकृत निर्देशन जारी गर्न लागिएको जानकारी दिएका छन् ।

बीमितहरुले भोगिरहेका विभिन्न समस्याको समाधानको लागि पनि बिमकको वित्तीय स्वास्थ्य बलियो हुन आवश्यक रहेको भन्दै उनले एकीकृत निर्देशनले जरुरी रहेको बताए ।

उनले बीमा प्राधिकरणले हाल नियामयकी व्यवस्थाहरूलाई सुधार गर्न प्रारम्भिक कार्य गरिसकेको जानकारी दिए ।

‘हाम्रो मुख्य उद्देश्य बीमा बजारलाई व्यवस्थित बनाउँदै व्यावसायिक अभ्यास सुधार गर्नु हो’ कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘यसका लागि सरोकारवालाहरूको सहकार्य आवश्यक छ ।’

कार्यक्रममा बोल्दै जीवन बीमक संघका अध्यक्ष तथा नेपाल लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत प्रनिण रमन पराजुलीले बीमा ऐनलाई समय सापेक्ष बनाउनु आजको आवश्यकता रहेको बताए । यसका लागि प्राधिकरणले काम गर्नेमा आफूहरू ढुक्क रहेको उनको भनाइ छ ।

बीमा विज्ञ रवीन्द्र घिमिरेले बीमा प्राधिकरणले जति प्रभावकारी रूपमा कार्यक्रमहरू गर्नुपर्ने हो त्यो हुन नसकेको गुनासो गरे । एउटा कर्मचारीले सानो गल्ती गर्दा अर्बौँको जोखिम इन्सुरेन्सको थाप्लोमा आउने कारण प्राधिकरणले दक्ष जनशक्तिको उत्पादनको लागि गम्भीर रूपमा सोच्न आवश्यक रहेको धारणा राखे ।

यस्तै, इमान अध्यक्ष रोयल आचार्यले बीमाको इतिहास लामो भए पनि अझै धेरै नागरिकको माझमा बीमाको पहुँच पुर्‍याउन बाँकी रहेको औँल्याए ।

कार्यक्रममा बोल्दै निर्जीवन बीमक संघका महासचिव सुनिल वल्लभ पन्त, लघुबीमक संघका सचिव नरेश रोक्का, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक समेत रहेका सानिमा रिलाइन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेलगायतले प्राधिकरणको नेतृत्वमा युवा पाउँदा आफूहरू खुसी भएको बताएका थिए ।

इमानले प्राधिकरणको अध्यक्ष नियुक्त भएकोमा ओझालाई सम्मान समेत गरेको छ । इमान अध्यक्ष रोयल आचार्यले प्राधिकरणका अध्यक्ष ओझालाई सम्मान पत्रसहित सम्मान गरे ।

आइतबार इमानले प्राधिकरणका नवनियुक्त अध्यक्षको सम्मान तथा ‘अबको बीमा क्षेत्र’ विषयक अन्तरक्रिया गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ