जनकपुरधाम– दीपक मरिक डोमको परिवार विस्थापित भएको छ । गाउँपालिका अध्यक्ष शिवजी यादवका आफन्तसहित समर्थकको धकधम्की गालीगलोजबाट रातिदेखि दीपक मरिक डोमसहित उनको परिवार विस्थापित भएको हो ।
विष्णु महायज्ञको नाममा गत फागुन १० गते औरही गाउँपालिका ५ स्थित रहेको दीपकको घर डोजर लगाएर भत्काएको थियो । घटना सार्वजनिक भएपछि त्यसमा संलग्न गाउँपालिका अध्यक्ष यादव र वडा नम्बर ५ का वडाध्यक्ष दिलीप यादवलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो ।
अध्यक्ष पक्राउपरेपछि तिमीहरुकै कारणले मेरो बुबा पक्राउ परेको भन्दै पालिका अध्यक्ष यादवका छोरासहित केही स्थानीयहरु राति दीपकको घरमा पुगेर गालीगलोज तथा धम्की दिएका थिए । त्यसपछि त्रासको कारण दीपक र अनिता राति नै वडा नम्बर ४ कोमलपुरमा रहेको दलित आयोगका पूर्वसदस्य कवुली पासवानको घरमा शरण लिएका छन् ।
उनका छोराछोरीहरु राति औरहीचौकीमा शरण लिएका छन् ।
पालिका अध्यक्ष पक्राउ परोको विरोधमा उनका आफन्त र समर्थक राति जिल्ला प्रहरी कार्यालय सिरहामा ढुंगामुढा गरेका छन् । उनीहरुले पालिका अध्यक्ष र पूर्ववडाध्यक्षको रिहाइको माग गरेका छन् । त्यस क्रममा प्रहरीले लाठीचार्ज गर्दा केही व्यक्ति सामान्य घाइते समेत भएका छन् ।
आगामी चैत १७ गतेदेखि श्री श्री १०८ विष्णु महायज्ञको लागि डोम परिवारको घर डोजर लगाएर भत्काइएको थियो । त्यहाँबाट दुई फिट माटो समेत फालिएको थियो । विजुली र पानी सुविधा नरहेको एकान्तम दिपकलाई फुसको घर बनाएर सारिएको छ । त्यहाँ वर्षाको बेला बाढीको भेल बग्छ ।
प्रतिक्रिया