+
Search

ताजा अपडेट +

पपुलर +

महायज्ञका लागि दलितको घर भत्काएको प्रकरण : पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

पालिका लाइभ
२०८१ चैत्र ८, शुक्रबार १९:४५ बजे

सिरहा– औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ ।

वडा नम्बर ५ मा महायज्ञ गर्ने नाममा दलित अछुत हुन्छ भन्दै दीपक मल्लिकको घर डोजरले भत्काएर उठिबास गराएको आरोपमा गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्षलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको हो । उनी दुबैजना सिरहा प्रहरीको नियन्त्रणमा रहेको मधेस प्रदेशका प्रहरी प्रमुख डिआइजी लालमणि आचार्यले पुष्टि गरे ।

उनले सोधपुछका लागि बोलाएपछि उनी दुबैजना आफै जिल्ला प्रहरी कार्यालय आएपछि नियन्त्रणमा लिएको पनि बताए । उनका अनुसार उजुरी भने अझै परेको छैन् ।

अगामी चैत १७ गतेदेखि महायज्ञ सुरु हुने भनिएको छ । महायज्ञ स्थलमा रहेको मल्लिकको घरमा फाल्गुन १० गते डोजर लगाएर बजरंगी बाबाको सल्लाहमा गाउँपालिका अध्यक्ष यादवले भत्काएका थिए । साथै त्यहाँको माटो समेत अछुत भएको भन्दै दुई फिट माटो समेत हटाएको आरोप पनि लागेको छ ।

दीपकको पक्की घर भत्काएर अहिले उनका लागि एकान्तमा लगेर फुसको घर बनाइदिएको छ । जहाँ न बत्ती छ, न खानेपानीको सुविधा । शौचालय समेत छैन् । अहिले उनको सात जनाको परिवार अँध्यारोमै रात बिताउन बाध्य छन् ।

महायज्ञको नाममा अछुत भन्दै दीपकलाई उठिबास लगाएको समाचार विभिन्न मिडियामा आएपछि संघीय र प्रदेश दुवै संसद्मा सांसदहरूले आपत्ति जनाएका थिए । सांसदहरू आरोपीहरूलाई अविलम्ब पक्राउ गरी अनुसन्धान तथा कारबाही गर्न माग गरेको थियो ।

दलितमाथि अत्याचार गरिएको घटनालाई सामान्य रूपमा लिएको भन्दै गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई तानिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ