+
Search

ताजा अपडेट +

पपुलर +

२०८४ सम्म प्रधानमन्त्री बन्ने रेसमा छैन, जनतासँगै रहन्छु: प्रचण्ड

स्वागतमा वीरगन्जका मेयर राजेशमान सिंह

4KNationalDaily
२०८१ चैत्र ८, शुक्रबार १८:०२ बजे

वीरगन्ज- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू हाल प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका छन् ।

माओवादी केन्द्रद्वारा सञ्चालित तराई–मधेस जागरण अभियानमा सहभागी हुन वीरगन्ज पुगेका प्रचण्डले प्रेस सेन्टर नेपाल, पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा २०८४ सम्म प्रधानमन्त्री बन्ने होडमा आफू नरहेको धारणा राखेका हुन ।

उनले सरकारमा हुँदा एक कुरा र सरकार बाहिर हुँदा अर्कै कुरा गर्ने आरोप माओवादीलाई उपयुक्त नहुने बताए ।

सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध जेहाद नै छेडिएको भन्दै उनले मिटर ब्याज पीडितका पक्षमा ऐन निर्माणदेखि नागरिकताविहीन युवाहरूका समस्यामा मलमपट्टी लगाउने काम सरकारमा रहँदा गरिएको दाबी गरे ।

आर्थिक विकासको गति दिन र सुशासन कायम गर्न सरकार बाहिर हुँदा पनि निरन्तर आवाज उठाइरहेको उल्लेख गर्दै प्रचण्डले भने, ‘सरकारमा हुँदा वा सरकार बाहिर, माओवादी एउटै हो।’

प्रचण्डले ओली नेतृत्वको सरकारले भ्रष्टाचार र बेथिति प्रोत्साहन गरेको आरोप लगाउँदै राम्रा काम गर्नेहरूलाई हतोत्साहित गरेको टिप्पणीसमेत गरेका छन् ।

यसअघि आयोजित नागरिक संवाद कार्यक्रममा प्रचण्डले वीरगन्जको विकाससँगै देशभर देखिएका स्वास्थ्य, शिक्षा, पूर्वाधार र सुशासनका सवालमा जनताको साथ आवश्यक रहेको उल्लेख गर्दै जागरण अभियान जनसम्पर्कको उद्देश्यले अघि बढाइएको बताए ।

संविधान निर्माणको क्रममा नै दश वर्षभित्र संविधानको समीक्षा र परिमार्जन गर्ने विषय प्रस्ट पारिएको उल्लेख गर्दै प्रचण्डले अब त्यो समयावधि पूरा हुन लागेको भन्दै संविधानको समीक्षा र परिमार्जन आवश्यक रहेको धारणा राखे । त्यसका लागि जनताको साथ अपरिहार्य भएकाले पार्टीले हुलाकी सडक केन्द्रित तराई–मधेस जागरण अभियान थालेको र चाँडै मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरिएको जानकारी दिए ।

कार्यक्रममा नागरिक समाजका प्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले आफ्ना समस्या र सुझाव राखेका थिए।

त्यसअघि आज बिहान प्रचण्डले वीरगन्जका विभिन्न स्थानमा मर्निङ वाक गर्दै स्थानीय जनतासँग भेटघाट गरेका थिए । महानगरपालिका प्रमुख राजेशमान सिंहले प्रचण्डलाई स्वागत गर्दै वीरगन्जका समस्या र आवश्यकताबारे जानकारीसमेत गराएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily