काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले अस्तु पनि नभेटिने मार्क्स, लेनिन र माओको कुरा गरेर जनतालाई उल्लु बनाइसकेको टिप्पणी गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजा फर्किँदैनन् भन्नेहरूले जनतालाई मार्क्स, लेनिन र माओको नाममा उल्लु बनाइरहेको बताएका हुन् ।
उनले भने ‘राजा गइसक्यो, फर्किँदैन भन्नुहुन्छ । गइसकेको राजा फर्किँदैन भने अस्तु पनि नभेटिने मार्क्स, लेनिन र माओको खोज्यो भने अस्तु पनि भेटिँदैन । त्यो चाहिँ कसरी फर्किन्छ र जनतालाई उल्लु बनाइराख्नु भएको छ ? हाम्रो राजालाई हामी नेपाली जनताले राष्ट्रिय झन्डामा स्वागत गरेको हो । कसैका विरुद्धको आन्दोलनमा होइन । स्वागत गर्दाखेरि त मुटु हल्लियो, कलेजो थर्कियो, धर्ती फाट्यो, आकाश फुट्यो भने तपाइँहरुको विरुद्ध आन्दोलन गर्नुपर्यो भने हालत के हुन्छ । यो कुरा याद गरेर संसद्मा आवाज उठाइदा विचार पुर्याइयोस् ।’
पूर्वराजालाई राष्ट्रिय झन्डामुनि स्वागत गर्दा दलहरूको मुटु, कलेजो हल्लिएको उनले टिप्पणी गरे ।
प्रतिक्रिया