सिरहा– करिब २५ वर्ष देखि सानो छाप्रोमा बस्दै आएका एकजना मलिक परिवारलाई जनप्रतिनिधिहरूले नै उठीबास गराएका छन्। पूर्व पश्चिम हुलाकी राजमार्ग अन्तर्गत औरही गाउँपालिका-५, स्थित सडक छेउमा लामो समयदेखि बस्दै आएका (दलित) मलिक परिवारलाई औरही गाउँपालिका अध्यक्ष शिवजी यादवले नै घर भत्काउन लगाएर विस्थापित गरेका हुन्।
विगत लामै समयदेखि सडक किनारमा बस्दै आएका दीपक मलिक (डोम) बस्ने नयाँ छाप्रो ठडिएको छ। त्यही छाप्रो पनि दुई वटा कोठामा विभाजन गरिएको छ। कोठाका दुवै दैलोमा भगवान् महादेव, विष्णु, गणेश, लक्ष्मी सरस्वतीका फोटो टाँसिएका छन्। तर, उनको आस्थाका भगवानले उनलाई कहिल्यै रक्षा गर्न सकेन।
उनका परिवारले पनि आस्थाका साथ मानिरहेका भगवान्हरूको नाममा यही चैत १७ गते देखि महायज्ञ आयोजना हुँदैछ। दीपक त्यही महायज्ञ स्थल नजिकै एउटा कुनामा सानो छाप्रोमा बस्दै आएका थिए। महायज्ञ लगाउने ठाउँ नजिकै छाप्रोमा बस्दै आएका अछुत डोम राख्न नहुने भनेर यज्ञका कर्ता धर्ता मानिएका महात्यागी बजरंगी बाबाको निर्देशनमा गाउँपालिका अध्यक्ष यादवले पालिकाकै जेसिभी लगाएर गत फागुन १० गते भत्काई ।
आयोजकले मलिकको घर मात्र भत्काइएन अछुतले छोएको माटो भनेर घर रहेको स्थानको समेत दुई फिट माटो खनेर खोलामा फालिएको छ। थातथलो भत्काएर मलिक परिवारलाई विस्थापित गराइए पछि श्री सुन्दर जनता माध्यमिक विद्यालय औरहीको करिब २ धुर जग्गामा दुई कोठाको टिनले छाएको घर बनाएर राखिएको छ। त्यही घरमा उनका दुई छोरा, दुई छोरी, एक बुहारी र दीपक श्रीमान श्रीमतीसहित सात जनाको परिवार बस्दै आएको थियो।
विगत २५ वर्षदेखि मलिक परिवारको थातथलो रहेको स्थानमा जनता आवास कार्यक्रमबाट ५ वर्ष अघि दुई कोठे पक्की भवन पालिकाले नै बनाइ दिएको थियो। घर भत्काएर नयाँ ठाउँमा सारिदिएपछि मलिक परिवार बिचल्लीमा परेका छन्। छाप्रो निर्माण भए पनि उनीसँग पानीको स्रोत छैन, बिजुली बलिरहेको छैन। अनिताले भनिन, ‘घर पनि हाम्रै काठ पात र थोत्रो जस्ता हालेर घर ठर्राइ दिएका छन्’।
दिकका श्रीमती अनिता मलिकले भनिन, ‘बर्षौंदेखि बस्दै आएको ठाउँबाट अहिले यहाँ सरिदिएको छ। साना नानीहरूसहित यहाँ बसिरहेको छु। बिजुली छैन। पानी छैन। गाउँबाट पानी मागेर एक महिनादेखि गुजारा गरिरहेको छु। बिजुली नभएकाले दिउँसै खाना पकाएर खानुपर्ने बाध्यता छ। कष्टपूर्ण तवरले बाचिरहेको छु।’
पुरानो वासस्थानबाट तिमीहरू हट्नु पर्छ भनेर गाउँपालिका अध्यक्ष यादव र वडा नम्बर ५ का पूर्व वडाध्यक्ष दिलीप यादवले दबाब दिएको पीडित दीपककी पत्नी अनिता मलिकले बताइन्। यज्ञ लगाउने नाममा हामीलाई त्यहाँबाट हट्नु पर्छ भनेका थिए। तर, हामी श्रीमान श्रीमती घरमा नभएको बेला डोजर लगाएर घर भत्काइयो। हामी निरीहले के प्रतिकार गर्न सक्नु।’
दीपक र अनिता मरिकको १७ वर्षीय छोरा अर्जुन र नव विवाहित बुहारी, १३ वर्षकी छोरी किरण कुमारी १० वर्षकी छोरी प्रीति र ८ वर्षीय छोरा आकाश मरिक सहितको ७ जनाको जहान छ।
यस सम्बन्धमा पालिका अध्यक्ष शिवजी यादवलाई सोध्दा उनले मलिक परिवारको घर भत्काइ दिएको स्वीकार गरे। उनले भने त्यहाँ कृषि बजार लगाउन ३ करोडमा टेन्डर लागेको छ। त्यहाँ चौतर्फी बाउण्ड्री वाल लगाउनु छ। त्यसकारण भत्काएको जिकिर गरे।
यता विभिन्न मिडियामा समाचार सम्प्रेषण पश्चात् आज स्थलगत निरीक्षणमा पुगेका जिल्ला प्रहरी कार्यालय प्रमुख रमेश पडिंतले तत्काललाई यो महायज्ञ रोक्न निर्देशन दिएको छ। उनले भने, ‘यो महायज्ञ विवादित भयो। अहिले तत्काललाई महायज्ञ रोक्न केन्द्रबाट नै निर्देशन आएको छ।’
महायज्ञका पुजारी बजरंगी बाबाले त्यो ठाउँ पवित्र गर्ने भन्दै जल छर्किए । यो सरासर छुवाछुतको अपराध गरेको दलित अधिकारकर्मीहरू बताउँछन्। दोषी बजरंगी बाबा, पालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादव माथि कानुन बमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन्। यो घटनाको बारेमा राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय दलित आयोगले समेत घटनाको छानबिन गर्न अधिकारकर्मीहरूले माग गरेका छन्।
प्रतिक्रिया