रौतहट– गरुडामा रहेको बंशिराम जैसवाल अनाथालयलाई नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
गरुडा नगरपालिकाका मेयर कन्थमनि प्रसाद जैसवालले एक कार्यक्रमकावीच अनाथालयका अध्यक्ष बंशिराम जैसवाललाई अनुदान रकम प्रदान गरेका हुन ।
अनाथालयमा रहेका असहाय बालबालिकाको शिक्षादीक्षा, खानपान तथा आवश्यक सुविधाको व्यवस्थापनका लागि नगरपालिकाको संस्थागत अनुदान कार्यक्रम अन्तर्गत सो सहयोग प्रदान गरिएको मेयर जैसवालले बताए ।
उनका अनुसार यस वर्ष पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अनाथालयलाई आर्थिक सहायता रकम उपलब्ध गराएको हो । अनाथ तथा असहाय बालबालिकाको शिक्षा, स्वास्थ्य तथा अन्य आधारभूत आवश्यकतामा कुनै कमी हुन नदिने उनले प्रतिबद्धता समेत जनाए ।
नगरपालिकाको सहयोगमा अनाथालयको भवन स्तरोन्नति भइरहेको उनले जानकारी दिए ।
२०५२ सालमा स्थापना भएको अनाथालयमा हाल ८० जना बालबालिका अध्ययनरत रहेकोमा २६ जना विद्यार्थी आवासीय सुविधामा बसेर अध्ययन गरिरहेका छन्।
यो अनाथालय विभिन्न व्यक्ती तथा संघ संस्थाको सहयोगको भरमा चल्दै आएको उनले उल्लेख गरे ।
२०५७ सालदेखि अनाथालयभित्र सामुदायिक विद्यालय सञ्चालनमा रहेको छ । त्यहाँ १ देखि ५ कक्षासम्म पढाइ हुन्छ । त्यसपछि बालबालिकाहरू नजिकको माविमा पढ्न जान्छन् ।
२ कट्ठा ५ धुर जमिनमा अनाथालयको भवन, विद्यालय र मन्दिर रहेको छ ।
प्रतिक्रिया