काठमाडौं– नेपालमा फेरि लोडसेडिङ हुने भनी जिम्मेवार व्यक्तिबाटै भाषणबाजी हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणले त्यसलाई नकारिदिएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अहिले पनि नभएको र अब पनि नहुने बताएका हुन्।
बुधवार राष्ट्रियसभा बैठकमा उपस्थित हुँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा नेपालमा अब लोडसेडिङ रोक्न नसकिने बताएका थिए।
तर घिसिङले भने राति पूरै पावरप्लान्टहरु चल्ने र दिउँसो आयात भइरहेकाले लोडसेडिङ नहुने स्पष्ट पारे।
तर ऊर्जामन्त्री खड्काले भने भारतबाट बिजुली आयात गरेर कृत्रिम रूपमा लोडसेडिङ अन्त्य गरिएको जिकिर गर्दै अब आयातलाई थेग्न सक्ने अवस्था नभएको दाबी गरेका थिए। सो क्रममा उनले घिसिङलाई ‘उज्यालो नेपाल’को नायक नभएको समेत बताएका थिए।
सरकारी लगानीबाट सञ्चालित प्राधिकरणले अहिले जम्मा ७ सय मेगावाट बिजुली मात्र उत्पादन गरिरहेको मन्त्री खड्काको भनाइ थियो। ८३० मेगावाट बिजुली आयात गरेर नेपालको आपूर्ति धानिरहेको उनको भनाइ थियो।
तर कुलमानले भने लोडसेडिङ नहुनेमा ढुक्क हुन आग्रह गरे। उनका अनुसार एक हजार मेगावाट बढीका आयोजना राति पूर्ण क्षमतामा चल्ने भएकाले पनि लोडसेडिङ हुने अवस्था छैन।
‘कुलेखानी, माथिल्लो तामाकोसी, मध्य मर्स्याङ्दी, मर्स्याङ्दी, चिलिमे, साञ्जेनजस्ता धेरै आयोजनाहरू राति चल्छन्’, उनले भने, ‘करिब करिब १००० मेगावाटका आयोजना पिकआवरमै फुल क्यापासिटीमा चल्छ। १००० प्लस रनअफ रिभर गरी १६/१७ सय मेगावाट आयोजना चल्छ।’
यस्तो अवस्था रहेकाले लोडसेडिङ हुने हल्लामा नदौडिन उनको आग्रह छ।
उनकका अनुसार नेपालमा पिक टाइममा करिब १८/१९ सय मेगावाट बिजुलीको माग हुन्छ। तर त्यसलाई प्राधिकरणले आवश्यक व्यवस्थापन मिलाएको उनको भनाइ छ।
उनले भने, ‘केही उद्योगलाई हामी पिक टाइममा चलाउन दिँदैनौँ। त्यति हुँदा हामीलाई बिजुली मज्जाले पुग्छ।’
कुलमानले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगमा भने अब आवश्यकता अनुसार काट्ने बताए।
‘भारतले पिक आवरमा नदिएकाले उद्योगहरुलाई भने राति बिजुली दिन समस्या भइरहेको छ। त्यसैले अब डेडिकेटेड र ट्रंक लाइनको पैसा नतिर्ने उद्योगमा भने आवश्यकता अनुसार हामी कटौती गर्छौं। त्यसका लागि हामीले प्राथमिकीकरण गरेका छौं। प्राधिकरणको लोड डिस्प्याच सेन्टरले काम गरिरहेको छ,’ उनले भने।
प्रतिक्रिया