काठमाडाैं– ऊर्जा तथा जलस्रोतमन्त्री दीपक खड्काले अहिले साँझको समयमा लोडसेडिङ हुने अवस्था रहेको बताएका छन् ।
राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले उज्यालो नेपालको नायक नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नभएको दाबी गरे ।
मन्त्री खड्काले सरकारको शत प्रतिशत लगानी रहेको विद्युत् प्राधिकरणले ७०० मेगावाट र २८०० मेगावाट विद्युत् निजी क्षेत्रले उत्पादन गरिरहेको बताए ।
उनले भने, ‘अहिले हामीलाई बत्ती पुगेको छैन । लोडसेडिङ छ । हिजो पनि लोडसेडिङ थियो, आज पनि छ । हिजो हामीले लोडसेडिङ छैन भनेर घोषणा गर्दा पनि थियो । खाली उद्योगधन्दातिर बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ । अहिले ८३० मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ । हामीसँग पुग नपुग १ हजार मेगावाट विद्युत् छ । अहिले साँझमा घरमै पनि लोडसेडिङ हुने अवस्था छ ।’
मन्त्री खड्काले निजी क्षेत्र र भारतबाट विद्युत् आयात गरेकाले लोडसेडिङ हटे जस्तो अनुभूति भएको बताए ।
उनले भने, ‘उज्यालोको नायक भनेको उहाँ (कुलमान) होइन । बरु यो धन्यवाद भारतलाई दिऊँ, निजी क्षेत्रलाई दिऊँ । जसले हाम्रो आवश्यकता पूर्ति गरेको छ । त्यता धन्यवाद दिऊँ न भनेर निवेदन गर्न चाहेको हो । यो यथार्थ हो ।’
प्रतिक्रिया