रामेछाप– बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पर्यटनलाई होटल व्यवसायसँग जोड्नुपर्ने बताएका छन् ।
होटल तथा पर्यटन व्यवसायी संघ, बाग्मती प्रदेशको पचौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई मंगलबार दोलखाको चरिकोटमा सम्बोधन गर्दै लामाले पर्यटकलाई जति माया गर्यो होटल व्यवसाय त्यतिकै फस्टाउने बताए ।
पर्यटकलाई आकर्षित बनाउन योजनाका साथ लाग्नुपर्ने उनको धारणा छ ।धेरै जनसङ्ख्या भएको ठाउँमा नै पर्यटक आउने बताउँदै उनले त्यस हिसाबले धेरै जनसङ्ख्या भएको ठाउँमा नै पर्यटक आउने बताउँदै उनले त्यस हिसाबले बाग्मती प्रदेश पर्यटकको गन्तव्य स्थल भएको बताए ।
उचित व्यवस्थापन गर्ने हो भने नेपालमा जति पनि पर्यटक ल्याउन सकिने उनको धारणा छ । जुन ठाउँमा जे विशेषता छ त्यही अनुसारको पर्यटन प्रवर्धन गर्नुपर्नेमा उनले जोड दिए ।
जहाँ जे उब्जनी हुन्छ त्यहाँका होटेलमा तिनै चिजका परिकार बनाएर पर्यटकलाई नयाँ स्वाद दिनु पर्ने लामाले बताए । ‘यहीँ उत्पादन भएको चिजलाई प्रवर्धन गर्न सक्यो भने हाम्रो उत्पादन पनि बढ्छ, पर्यटक पनि बढाउन सकिन्छ’, उनले भने ।
नेपालमा पर्यटकीय क्षेत्र प्रवर्द्धन गर्न नसकेको कारण पछि परेको उनले बताए । लगानीकर्तालाई भित्र्याएर पर्यटन प्रवर्धनका संरचना बनाउनु पर्नेमा उनको जोड छ । यसको लागि लगानीकर्तालाई लगानीको वातावरण बनाउनुपर्ने लामाको धारणा छ ।
‘लगानीमैत्री वातावरण बनायो भने रोजगारी सिर्जना हुन्छ, रोजगारी सिर्जनबाट मात्र युवाको विदेश पलायन रोक्न सकिन्छ’, उनले भने ।
लगानी असुरक्षित हुँदासम्म कोही पनि लगानी गर्न नआउने बताउँदै उनले यसको लागि स्थानीयले पनि वातावरण बनाइदिनु पर्ने बताए । सरकारले कानुन बनाएर मात्र लगानीको वातावरण नबन्ने उनले स्पष्ट पारे । नेपालमा लगानी गर्नेको विरोध गर्ने प्रवृत्ति खराब भएको लामाले बताए ।
भ्रष्टाचार भयो भनेर मात्र नियन्त्रण नहुने बताउँदै उनले सबै कुरालाई अद्यावधिक गर्दै जाने हो भने भ्रष्टाचार स्वतः घट्ने बताए । अहिले खोजी गर्ने हो भने कोही पनि नबच्ने उनले दाबी गरे ।
देश हिजोको तुलनामा धेरै अघि बढिसकेको बताउँदै लामाले अझै यसलाई व्यवस्थित गर्न भने बाँकी रहेको स्पष्ट पारे । ‘सबै क्षेत्रमा सुधार गर्न आवश्यक छ, सरकार पनि सुध्रिनु पर्छ, सबै पक्ष सकारात्मक हुनुपर्छ, नकारात्मक भएर केही पनि हुँदैन’, उनले भने ।
नकारात्मक कुराले सबै कुरा नकारात्मक बनाउने बताउँदै लामाले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताए । देश बनाउनको लागि रातदिन काम गर्नुपर्ने उनको धारणा छ ।
प्रतिक्रिया