+
Search

ताजा अपडेट +

पपुलर +

प्रशासनिक तथा आर्थिक कामहरू गर्न समस्या

मुगुका तीन पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन, सेवाग्राहीलाई सास्ती

पालिका लाइभ
२०८१ चैत्र ५, मंगलवार १९:०४ बजे

मुगु- हिमाली जिल्ला मुगुका एक नगरपालिका र दुई गाउँपालिका प्रमुख प्रकाशकीय अधिकृत विहीन भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिले कार्यरत अधिकृतहरूलाई हटाएर नयाँ अधिकृत खटाउने निर्णय गरे पनि अझै अधिकृत नपठाउँदा सेवाग्राहीहरू मारमा परेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा छायाँनाथ रारा नगरपालिका, खत्याड गाउँपालिका र सोरु गाउँपालिकामा प्रशासनिक तथा आर्थिक कामहरू गर्न समस्या भएको छ ।

छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णु कुमार भामका अनुसार पुरानै अधिकृत पशुपति शाहीलाई निरन्तरता दिनका लागि नगर कार्यपालिकाले निर्णय गरी मन्त्रालयमा पत्र पठाएको भए पनि कुनै सुनुवाइ नभएको बताए । ‘हिजोआज अधिकृतका लागि ‘मन्त्रालय धाउँदा–धाउँदा थाकिसक्यौँ’ उनले भने ।

मुगुको सोरु गाउँपालिका, खत्याड गाउँपालिका र छायाँनाथ रारा नगरपालिकाका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत विहीनले स्थानीय नागरिकहरूका दैनिक प्रशासनिक आर्थिक कामकाज प्रभावित भएको स्थानीय सरोकारवालाहरूको भनाई छ ।

सेवाग्राहीहरूले आवश्यक कागजात, सिफारिस, प्रमाणीकरण, राजस्व संकलन, योजना पारित, कर्मचारी व्यवस्थापन, योजना सम्झौता सम्बन्धी कार्य, योजना बिल भुक्तानी, पेश्की फर्स्यौट, नगद तथा जिन्सी कारोबार, अनुगमन जस्ता महत्त्वपूर्ण कार्य समेत बन्दा हुँदा स्थानीय नागरिकले सास्ती भोग्नुका साथै आर्थिक वर्ष सकिन करिब चार महिना मात्र बाँकी रहँदा प्रशासकीय अधिकृतको हालसम्म कुनै टुङ्गो नलाग्दा तीन वटै स्थानीय तहका जनताहरू सेवा लिनबाट वञ्चित भएका छन् भने भएको विकास बजेट समेत फ्रिज हुने सम्भावना छ ।

मुगुका तीन पालिका एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन गराउने मुख्य भूमिका पालिकाका अध्यक्ष र उपाध्यक्षहरूले आफ्नो अनुकूलताका कर्मचारीहरू ल्याउने भूमिकाले गर्दा स्थानीय मारमा परेको स्थानीय दान बहादुर बुढाको भनाइ छ ।

यता खत्याडगाउँ पालिकामा गत माघ ९ गतेदेखि प्रमुखविहीन हुँदा कार्यपालिकाले कनिष्ठ पालिकामा कार्यरत सातौँ तहका अधिकृत विजय वलीलाई प्रमुख प्रशासकीयका लागि सर्वसम्मत निर्णय गरेर मन्त्रालयमा पठाए पनि अहिलेसम्म कुनै निर्णय नहुँदा नगर प्रमुख विहीन भएको हो ।

सामान्य प्रशासन मन्त्रालयले माघ ९ गतेको निर्णय अनुसार २३ पालिका र माघ २५ गतेको निर्णय अनुसार १६ स्थानीय तहलाई जुनियर कर्मचारीहरूलाई जिम्मेवारीबाट हटाएको परिपत्र भए अनुसार मुगुका तीन पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका हुन् । तर प्रमुख प्रशासकीय अधिकृत विहीन स्थानीय तहका जनप्रतिनिधिहरू आन्दोलन गर्ने मनस्थितिमा रहेको सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ