काठमाडौं– नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक दीपक थापाले संगठनभित्र व्यापक सुधारको आवश्यकता रहेको बताएका छन् । दर्ज्यानी चिन्ह ग्रहणपछि महानिरीक्षक थापाले उक्त सुरुवात आफैँबाट हुने बताए ।
उनले मुलुकमा शान्ति सुरक्षाको कार्यान्वयन र मानव अधिकारको प्रत्याभूति गर्न आफू प्रतिबद्ध रहेको पनि बताए ।
उनले भने- ‘प्रहरीमा सुधार आवश्यक छ । अब त्यसका लागि साइत कुरेर बस्ने समय पनि छैन । सुधारको प्रारम्भ कोही र कसैबाट होइन, म भित्रैबाट आवश्यक छ भन्ने स्वीकार गरी अगाडि बढ्नुको विकल्प पनि छैन ।
यसैतर्फ अगाडि बढ्न म मेरा सहकर्मीलगायत सकल दर्जाहरूमा अनुरोध गर्न चाहन्छु । यसमा समन्वयात्मक भूमिकाका लागि म निरन्तर लागिरहने प्रतिविद्धतासमेत व्यक्त गर्न चाहन्छु ।’
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई ३१औँ प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । गृह मन्त्रालयमा आज आयोजित एक समारोहबीच गृह सचिव गोकर्णमणि दुवाडीले नवनियुक्त महानिरीक्षक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।
प्रतिक्रिया