काठमाडौं– नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापा ३१औँ प्रहरी महानिरीक्षक (आइजी) भएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले एआइजी थापालाई आइजीमा बढुवा गर्ने निर्णय गरेको हो।
आइजीको प्रतिस्पर्धामा थापासँगै एआइजी सुदीप गिरी र टेकबहादुर तामाङ थिए। गिरी र तामाङभन्दा थापा १८ दिनले सिनियर हुन्।
मन्त्रिपरिषद्ले एआइजीमा एक नम्बरमा रहेका थापालाई वरिष्ठताका आधारमा आइजीमा बढुवा गरेको हो।
२०५२ भदौ १९ गते प्रहरी सेवामा प्रवेश गरेका थापा २०७९ चैत ६ गते एआइजीमा बढुवा भएका थिए। ३० वर्षे सेवा अवधिका कारण प्रहरी महानिरीक्षक वसन्त कुँवरले सोमबार अवकाश पाएकाले थापालाई बढुवा गरिएको हो। कुँवरसँगै पाँच जना एआइजी र ४ जना डीआइजीले पनि अवकाश पाएका छन्।
यसअघि वरिष्ठता मिचेर आइजी बनाइएको भन्दै तत्कालीन डीआइजी नवराज सिलवाल र रमेश खरेल तथा एआइजी विश्वराज पोखरेलले राजीनामा दिएका थिए।
पछिल्ला दुई कार्यकाल भने वरिष्ठताका आधारमा नै आइजी बनाइएको छ। थापाले आइजीको रूपमा लामो समय काम गर्न पाउने छैनन्। उनले साढे ५ महिना मात्र करिब ८० हजार फौज रहेको प्रहरीको नेतृत्व गर्नेछन्। ३० वर्षे सेवा अवधिका कारण थापाले आगामी भदौ १८ गते अवकाश पाउनेछन्।
यसअघि ठाकुर ज्ञवाली पाँच महिना आइजी बनेका थिए।
थापासँग गम्भीर प्रकृतिका अपराध अनुसन्धान गर्ने केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व अनुभव छ।
डीआइजी हुँदा बागमती प्रदेश प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी निर्वाह गरेका थापाले एसपी हुँदा जिल्ला प्रहरी कार्यालय चितवनको कमान्ड सम्हालेका थिए। उनी कमान्ड कन्ट्रोलमा अब्बल मानिन्छन्।
प्रतिक्रिया