+
Search

ताजा अपडेट +

पपुलर +

दोस्रो चौमासिक

राइनास नगरपालिकाको वित्तीय प्रगति सुस्त: ८ महिनामा ३७ प्रतिशत मात्र खर्च

पालिका लाइभ
२०८१ चैत्र २, शनिबार १८:२६ बजे

लमजुङ– राइनास नगरपालिकाले चालु वर्षको दोस्रो चौमासिकसम्म ३७ प्रतिशत बजेट खर्च गरेको छ ।

नगरपालिकाको चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत अनुमानित कुल बजेट ८९ लाख ७ हजार रहेकोमा साउन देखी फागुन २५ सम्म २२ करोड १७ लाख ६२ हजार चार सय ८० रुपैयाँ अर्थात् ३७.०२ प्रतिशत बजेट खर्च गरेको हो ।

बिहीबार आयोजित नगरपालिकाको दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाइमा पालिकाको प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौडेलले चालु तर्फ ४१.९ प्रतिशत र पुँजीगत तर्फ २५.६२ प्रतिशत वित्तीय प्रगति भएको बताए ।

प्रशासकीय अधिकृत पौडेलले चालु वर्षको हालसम्मको आम्दानी, खर्च तथा विषयगत र शाखागत प्रगति विवरणबारे जानकारी गराएका थिए । नगरपालिकाले आन्तरिक आर्य तर्फ चालु वर्षमा एक करोड ५० लाख संकलनको लक्ष्य लिएकोमा करिब आठ महिनाको अवधिमा ७२ लाख ५४ हजार सातसय रुपैयाँ संकलन भएको जनाएको छ ।

नगरस्तरीय स्वीकृत वार्षिक कार्यक्रमको ५० योजनामध्ये हालसम्म ४० वटा योजनाको सम्झौता भई १८ योजना सम्पन्न भएको छ। वडास्तरिय ९२ योजना मध्ये ६३ वटा सम्झौता भई २२ वटाको कार्य सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ । उज्यालो नगरपालिका कार्यक्रम अन्तर्गत वडा नं १ देखि ८ सम्मको मुख्य सडकहरूमा २४ किलोमिटर तारसहित ३ सय १० वडा जडान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार पालिकाको वडा नं ५ बाट जिल्लामै पहिलो पटक नगरपालिकाले नयाँ नागरिकताको अनलाइन सिफारिस सुरु गरेको छ ।

दोस्रो त्रैमासिक सम्म ३ हजार ९५ लाभग्राहीलाई ६ करोड ४० हजार तिनसय ९५ रुपैयाँ बैंक खाता मार्फत सामाजिक सुरक्षा भत्ता भुक्तानी गरिएको र लाभग्राहीको विवरण बायोमेट्रिक भेरिफिकेसनको लागि वडा कार्यालयहरूमा बायोमेट्रिक डिभाइस जडान गरी सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा पालिकाको योजना छनोट प्रक्रिया, योजना कार्यान्वयन र सेवा प्रवाहबारे नागरिकका गुनासो सम्बोधन गर्दै नगरपालिकाका उपप्रमुख पुष्पराज खनालले नगरपालिकाले पारदर्शी भएर इमानदारता र प्राथमिकताको आधारमा काम गर्दै आएको र आगामी दिनमा पनि नागरिकका सुझावलाई मनन गर्दै अघि बढ्ने बताए।

नगरप्रमुख गुरुङले नगरवासीको काममा कत्ति पनि ढिलासुस्ती नगरी सबैले इमानदारीका साथ आ-आफ्नो जिम्मेवारी निभाउनुपर्नेमा जोड दिए । सबै जनप्रतिनिधि र कर्मचारीले नागरिकको गुनासो नआउने गरी काम गर्नुपर्ने भन्दै उनीहरूका गुनासो र समस्यालाई पहिचान गरी सम्बोधन गर्न आग्रह गरे।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ