गोरखा– चुमनुब्री गाउँपालिकाले ११५औँ अन्तर्राष्ट्रिय नारी दिवस विशेष उत्साहका साथ मनाएको छ।
‘महिला तथा बालबालिकाको अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ गाउँपालिकाले सचेतनामूलक कार्यक्रमको आयोजना गरेको हाे। दिवसको अवसरमा विविध कार्यक्रम गरिएका थिए, जसले महिला अधिकार, समानता, र सशक्तीकरणको सन्देश प्रवाह गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिकामा कार्यरत कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उत्साहजनक उपस्थिति थियो। कार्यक्रममा महिला सशक्तीकरणका विषयमा विभिन्न वक्ताहरूले आफ्ना विचार राखेका थिए।
महिलाहरू केवल घरायसी कामकाजमा सीमित नभई समाजका हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्न सक्षम रहेको सन्देश कार्यक्रममा विशेष रूपमा उठाइएको थियो।
समारोहको प्रारम्भ महिला अधिकार, समानता र सशक्तीकरणको सन्देश फैलाउने उद्देश्यले गरिएको र्यालीबाट भएको थियो। महिलाहरूका लागि अवसरको सुनिश्चितता आवश्यक रहेको तथा उनीहरूलाई आत्मनिर्भर बनाउन सकिने उपायहरूबारे छलफल गरिएको थियो। वक्ताहरूले विशेष रूपमा महिलाहरूलाई परम्परागत सामाजिक सीमाबाट माथि उठी शिक्षालगायत विभिन्न माध्यमबाट सशक्त बन्नुपर्नेमा जोड दिएका थिए।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले कार्यक्रममा बोल्दै पछिल्लो समय महिलाहरू विभिन्न क्षेत्रमा अब्बल साबित भइरहेका उल्लेख गर्दै नेतृत्वदायी भूमिकामा अघि बढ्न महिलाहरूलाई हौसला प्रदान गरिन्। उनले भनिन्, ‘आजको नारी कुनै एक क्षेत्रमा मात्र सीमित छैन। खेलकुद, राजनीति, समाजसेवा, प्रशासन, व्यापार, कलाकारिता जस्ता क्षेत्रमा महिलाहरूको लोभलाग्दो उपस्थिति रहेको छ। महिलाहरूले आफ्नो सीप, ज्ञान, र परिश्रमका माध्यमबाट समाजमा सकारात्मक प्रभाव पार्न सफल भएका छन्।’ साथै, उनले अझै पनि केही समाजमा महिलाप्रति रहेको परम्परागत सोच परिवर्तन गर्न आवश्यक रहेको औँल्याइन्।
उनले थप भनिन्, ‘महिलाहरूको समानता र हक अधिकार सुनिश्चित गर्नका लागि सबै पक्ष एकजुट भएर अघि बढ्न आवश्यक छ। महिला अधिकार केवल नारामा सीमित हुनु हुँदैन, यो व्यवहारिक रूपमा कार्यान्वयन हुनुपर्छ।’ उनले महिलाहरूलाई हरेक क्षेत्रमा आत्मनिर्भर र सक्षम बनाउन शिक्षा, सीप विकास तथा आर्थिक अवसरहरूको सुनिश्चितता गर्नुपर्नेमा पनि जोड दिइन्।
कार्यक्रमका सहभागीहरूले महिलाहरूलाई समाजको मूल प्रवाहमा ल्याउनका लागि शिक्षा, आर्थिक सशक्तीकरण, कानुनी चेतना, र आत्मनिर्भरतामा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले हरेक तह र तप्काबाट महिलाहरूलाई आत्मनिर्भर बनाउने नीति तथा कार्यक्रम ल्याइनुपर्नेमा पनि ध्यानाकर्षण गराए।
प्रतिक्रिया