+
Search

ताजा अपडेट +

पपुलर +

संस्मरण: माया, पीडा र पुनर्जन्म

पालिका लाइभ
२०८१ फाल्गुन २४, शनिबार १२:२१ बजे

प्रेमको कुनै निश्चित समय वा उमेर हुँदैन रहेछ । यस्तैगरी, जब माया कसैप्रति गहिरो बन्दै जान्छ, तब त्यसले व्यवहार, बानी–व्यवहार, सोच्ने तरिका, यहाँसम्म कि सपना र लक्ष्यमा समेत प्रभाव पार्दो रहेछ । जब म कक्षा ७ मा पढ्दै थिएँ, मलाईसँगै पढ्ने वहाँ मन पर्न थालेछ । दिन त जसरी पनि कट्थ्यो, तर वहाँको एक झल्को देखेपछि मात्र दिन बितेको जस्तो लाग्थ्यो । दिन प्रतिदिन वहाँको मात्र याद आउँथ्यो । वहाँलाई मात्र हेरिरहन मन लाग्थ्यो । त्यति मात्र होइन, वहाँ मनपर्न थालेपछि वहाँलाई हेर्न पाइन्छ भने पनि स्कुल आउन मन लाग्थ्यो ।

दिनहुँ स्कुल आउँदा–आउँदा म आफैँमा धेरै परिवर्तन आइसकीछु । मैले कहिल्यै नपाएको पुरस्कार कक्षा ८ मा पुग्दा प्रमाणपत्रको रूपमा पाएँ, जहाँ लेखिएको थियो- ‘सरसफाइमा प्रथम’ र ‘पढाइमा दोस्रो’। यसमा मेरो मेहनत त थियो नै, तर यो मेहनत वहाँको मायाले प्रेरित थियो । मायाको अर्थ केवल माया गर्नु मात्र रहेनछ, साथै परिवर्तन ल्याउनु पनि रहेछ । बिस्तारै मलाई लाग्न थाल्यो, साँच्चै मैले प्रेम प्रस्ताव राख्ने हो कि ? सुनेको त थिएँ- केटीहरूले कहिल्यै केटालाई प्रस्ताव राख्दैनन् । तर म पछि हट्न सकिनँ, मलाई त त्यही मानिस चाहिएको थियो ।

यस्तै गर्दै, एक दिन स्कुलमा कार्यक्रम भइरहेको बेला, मैले लेखेको प्रेमपत्र वहाँलाई दिएँ । त्यो दिन मनमा एक किसिमको छटपटी थियो, अनेकौँ प्रश्नहरू खेलिरहेको तर उत्तरको खोजीमा थिएँ । भोलिपल्ट एउटै मात्र जवाफ आयो- ‘म तिमीलाई माया गर्दिन । जति वहाँलाई मन पराउँदा खुसी भएकी थिएँ, त्योभन्दा बढी दुःखी त्यही उत्तरले बनायो । मन निकै भारी भयो, तर म रोएर, कराएर, आफ्नो पीडा कसलाई सुनाउँथेँ र? राति ओछ्यानमा एक्लै हुँदा, चुपचाप सिरानी भिजाएर रोएको दिन आज पनि सम्झन सक्छु ।

पहिलो प्रेमको अनुभव, त्यो पनि अस्वीकारको! त्यो आँसु, जो उसैको लागि झरिएको थियो । हुँदा–हुँदै कक्षा १० मा पुगियो । समयसँगै धेरै कुरा बुझ्न थालेँ । तर अचम्म के लाग्थ्यो भने, जसले मलाई अस्वीकार गर्‍यो, उसैको लागि अझै मनमा माया र चिन्ता किन थियो? बोलचाल राम्रो हुँदै गयो, भेटघाटसमेत हुन थाल्यो। कता कता लाग्न थाल्यो उहाँले माया गर्नुहुन्छ। तर दोस्रो पटक म फेरि अघि बढेँ। एक दिन, स्कुलबाट घर फर्कने बेलामा, मैले वहाँलाई फेरि भने- म तपाईँलाई अझै पनि माया गर्छु, यो पटक उत्तर आयो— हुन्छ, म पनि तिमीलाई माया गर्छु। त्यति सुन्नासाथ, त्यो मान्छे मेरो भएको झैँ महसुस भयो। बिस्तारै हाम्रो सम्बन्ध गहिरिँदै गयो। कुराकानी फोनमार्फत हुन थाल्यो। त्यो बेला घरमा फेसबुक खोलेको थाहा भएको भए गाली खानु पर्थ्यो, तर थाहा नदिई हामीले फेसबुक खोल्यौँ। जहाँ वहाँको आधा नाम र मेरो आधा नाम मिसाएर बनाएको नामबाट अकाउन्ट खोलेका थियौँ।

एक दिन घरमा थाहा भयो, मैले चलाएको फेसबुक र मेरो हातमा भएको मोबाइल खोसिदिनु भयो, अनि केही दिनसम्म हामी बोलेनौँ। यत्तिकैमा, एक दिन ममीको मोबाइलबाट एसएमएस गरेँ। सबै कुरा बताइदिएँ। त्यस बेलादेखि हामी बोल्न छोड्यौँ। तर वहाँले भन्नुभयो , विश्वास गर, म तिम्रै हुँ, अनि तिमी मेरै हौ। एक महिनापछि, मलाई मोबाइल दिनु भयो। मैले तुरुन्तै वहाँलाई एसएमएस गरेँ, अनि हामी फेरि पहिलेझैँ बोल्न थाल्यौँ। एक दिन अचानक अपरिचित नम्बरबाट एसएमएस आयो, जहाँ लेखिएको थियो- अनलाइन आउन, कुरा छ। म अनलाइन गएँ, तर त्यहाँ कोही थिएन, न कुनै मेसेज नै। कसले गरेको होला भनेर सोच्दै बसेँ। केहीबेरमै वहाँकै फेसबुकबाट मलाई मेसेज आउन थाल्यो।

मैले पढ्न नपाउँदै फेरि अर्को मेसेज, अनि फेरि अर्को। मैले बुझ्नै सकिनँ, आज के भइरहेको छ भनेर। त्यसैले बुझ्नका लागि मैले तुरुन्तै वहाँलाई कल गरेँ, तर मोबाइल अफ थियो। त्यसपछि म मेसेज पढ्न थालेँ। त्यहाँ लेखिएको थियो- म वहाँको प्रेमिका हुँ । त्यो पढेर म छाँगाबाट खसेझैँ भएँ। म निःशब्द भए। यत्तिकैमा ती सबै मेसेजहरू हेरेँ, तर केही उत्तर नदिई चुपचाप बसेँ। बेलुका वहाँले मसँग कुरा गर्नुभयो। मैले तुरुन्तै सोधेँ- के थियो यो सबै? कतै मलाई मजाक त गरिरहनुभएको छैन? वहाँले भन्नुभयो- माफ गर, तिमीसँग नबोलेको समय उनीसँग बोलेको थियो। उसले मलाई मन पराउँथी। तर मैले उसलाई भनेको थिएँ कि मेरो कोही छैन, प्रेमिका छैन। त्यसैले यो सबै भयो। त्यसपछि मैले भनेँ- यदि माया छैन भने, स्पष्ट भन्नुहोस्। तर यदि माया छ भने, बारम्बार यसरी अप्ठ्यारोमा नपार्नुस्।

विश्वास थियो, त्यसैले विश्वास गरेर सबै कुरा बिर्सिए। मैले कक्षा १२ पढ्न कलेज ज्वाइन गरेँ, वहाँ गाउँमै पढ्नुहुन्थ्यो। सबै कुरा राम्रै चलिरहेको थियो। एक दिन वहाँ भ्रमण जानुभयो। मैले सोधेँ- तपाईं कतै जाँदै हुनुहुन्छ, मसँग केही दिन बोल्न पाउनु हुन्न होला, होइन? वहाँले भन्नुभयो- म कहीँ जाँदिन, विश्वास गर। मैले विश्वास गरेँ। तर जुन दिन वहाँ भ्रमण जानुभयो, त्यस दिनदेखि वहाँ मसँग कम बोल्न थाल्नुभयो। बिहान पठाएको म्यासेज बेलुका मात्रै पढ्नुहुन्थ्यो। म अलमलमा थिएँ- के भयो मैले केही बुझ्न सकिनँ, तर केही दिनपछि वहाँकी दिदीबाट थाहा पाएँ- वहाँ त मेरो मिल्ने साथीसँग प्रेम सम्बन्धमा रहनु भएको रहेछ! त्यो कुरा सुनेर म पूर्ण रूपमा टुटेँ। जति नै सम्हाल्न खोजेँ, सकिनँ। म्यासेजको प्रतीक्षा गरिरहेँ, तर केही पनि आएन।

मेरो साथीले मलाई एसएमएस गरेर सबै कुरा बताइदिइन्। म रिसले आगो भएँ, धेरै गाली गरेँ, धेरै प्रयास गरेँ वहाँलाई फिर्ता ल्याउन, तर सकिनँ। रोएँ, कराएँ। मेरा केही साथीसँग मन बुझाएँ। हप्तौँसम्म म घर नफर्की उनीहरूकै घरमा बसेँ। अन्ततः मैले वहाँलाई अन्तिम पटक कल गरेँ। रोइरोई सोधेँ- यदि माया थिएन भने, किन पटक–पटक आयौँ? यदि माया थियो भने, किन मेरो भावनासँग खेल्यौ? वहाँको एउटै उत्तर थियो-मेरो परिवारमा अन्तरजातीय विवाह स्वीकार छैन, त्यसैले यस्तो कदम चालेँ। मैले भनेँ-मायाका लागि जात किन हेरिन्छ? यदि जात नै हेर्नुपर्ने हो भने, आफ्नै जातका सबैलाई माया गर्न सम्भव छ र? अरू जातका मान्छेको भावना हुँदैन? तर वहाँले भन्नुभयो म अब बोल्दिनँ। फोन राख। अनि वहाँले फोन काट्नुभयो।

त्यसपछि, सोच्दै त्यो रात, मैले मेरो जीवन समाप्त गर्ने निर्णय गरिसकेकी थिएँ। अब म यो संसारबाट टाढा जान्छु। मर्नको लागि मैले सल ठिक पारेँ अनि घाँटीमा कसेँ। मेरो नसाहरू बाहिर आइरहेझैँ, सास रोकिएको जस्तो भयो, केही समयमै मेरो सास रहने थिएन त्यत्तिकैमा, ढोकाबाट आवाज आयो— छोरी, ढोका खोल। बाबालाई फोन गर्देत। त्यो आमा बोलेको आवाज, अनि बाबाको नाम सुनेपछि मेरो हातले कस्सिएको सल फुकाइदिए।

छिटोछरितो मुख धोएर ढोका खोलिदिए। किन? के भयो? तँलाई अर्कै देख्छु त! भन्नु भयो। मैले भनेँ, खोकी लागेको थियो। बिस्तारै म प्रेमलाई पछाडि राख्दै, पहिलेका कुराहरूलाई बिर्सँदै, बुबा–आमाले गर्ने माया जस्तो माया अरू कसैले गर्न सक्दैन रहेछ। मायाको भूमिकालाई केवल बुबा–आमा र आफ्नै परिवारले निभाउन सक्छन्। तर अरूले त जिन्दगीलाई त्यही अप्ठ्यारो घडीसम्म मात्र पुर्‍याउने रहेछन्, जुन मैले अनुभव गरिसकेँ। मलाई जन्म दिने यही बाबा–आमा, मलाई पुनर्जन्म दिने पनि यही बाबा-आमा।

मेरो लागि मेरा बाबा-आमा नै पर्याप्त छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ