काठमाडाैं– विगत पाँच वर्षदेखि सृजनशील महिला नौमती बाजा समूह सक्रिय छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका ३ मा रहेको समूहमा महिलाहरू मात्रै आबद्ध छन् । समूहले प्रधानमन्त्री, मन्त्रीका क्वाटरहरूदेखि विभिन्न संघ संस्थाको कार्यक्रमहरू तथा विवाहहरूमा बाजा बजाउने गर्दछन् ।
महिलाले पुरुषले झैँ काम गर्न सक्दैनन् भन्ने दृष्टिकोणलाई परिवर्तन गर्नका लागि आफूहरूले महिलाहरूको मात्रै नौमती बाजा समूह कानुनी रूपमा दर्ता गरेर सञ्चालनमा ल्याएको समूहकी सदस्य बाल कुमारी भुसाल बताउँछिन् ।
उनले भनिन्, ‘पञ्चेबाजा बजाउन छ वर्ष लाग्न लाग्यो । जातिगत रूपले समूहलाई पनि समावेशी बनाएका छौँ । माग भयो भने नेपालभरि नै जान्छौँ । कतिपय स्थानीय तहले महिलाहरूलाई गुडिया, अगरबत्ति बनाऊ भनेर बजेट दिन्छ । त्यसलाई चुनौती दिनका लागि हामीले समूह बनाएरै कानुनी रूपमा सामान्य महिलाले गर्न सक्दैनन् भन्ने काम गरेर देखाएका हौँ ।’
उनले आफूहरूले सुरुवातीमा समाजबाट धेरै अपहेलना खेप्न परेको गुनासो गरिन् । दलित जातिले मात्र बजाउने बाजा भनेर भनियो, समाजको मानसिकताका कारण आफूहरूले तिरस्कार भोग्न परेको उनले सुनाइन् । परम्परागत मानसिकतालाई परिवर्तन गर्न महिला बाजा समूह स्थापना गरेको उनले जानकारी दिइन् ।
‘सुरुवाती चरणमा धेरै समस्या भयो, जातीय हिसाबले हेरियो । समाज मात्र नभई स्थानीय स्थानीय सरकारको हेर्ने दृष्टिकोण संकुचित थियो । तल्लो जातको काम भनेर हेप्ने काम भयो । समाजमा संस्कार नै अझै परिवर्तन भएको छैन । हामी आफैँबाट परिवर्तन गर्नुपर्छ भनेर लागेका हौँ,’ उनले भनिन् ।
उनको अनुसार सृजनशील महिला नौमती बाजा समूहमा समावेशितालाई विशेष ध्यान दिइएको छ । बाहुन, क्षेत्री, गुरुङ, मगर तामाङ सबै जातको महिलाहरू समूहमा रहेको उनले जानकारी दिइन् ।
उनले भनिन्,‘बाहुन जातिले बाजा बजाउन हुँदैन भन्ने मानसिकतालाई चिर्ने काम गरेका छौँ । तर हाम्रो समूहमा बाहुन, क्षेत्री, गुरुङ, मगर, तामाङ सबै जात छन् । समावेशिता छ । स्थानीय सरकारले समेत महिलाहरूले गर्न सक्दैनन् भन्ने र बजेट पचाउने काम मात्र गर्यो भनियो । तर हामीले साहस बटुलेर प्रधानमन्त्रीदेखि मन्त्रीहरूको क्वाटरसम्म गएर बजाउने काम गरिरहेका छौँ ।’
सुरु सुरुमा महिला भएकै कारण घर परिवारबाट पनि सपोर्ट नपाएको उनी सुनाउँछिन् । तर अहिले समय परिवर्तनसँगै घर परिवारको मानिसहरूको मानसिकतामा पनि परिवर्तन आउँदा आफूहरूलाई पहिला भन्दा सहज भएको उनको भनाई छ ।
‘हामीलाई लगनमा चाहिँ भ्याई नभ्याई हुन्छ । वैशाख १७ गतेलाई अहिले नै बुकिङ भएको छ । धेरैले मन पराइदिनुभएको छ,’ उनले खुसी साट्दै भनिन् ।
फाइभ स्टार होटलमा गएर जाँडरक्सी खाएर नारी दिवस मनाउने गलत प्रचलन रहेको भन्दै उनले आफूहरूले सडकमा बाजा बजाएर नारी दिवस मनाउने सोच रहेको सुनाइन् ।
प्रतिक्रिया