काठमाडौं– माओवादी केन्द्रकी नेतृ एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा रहेको अधिकारहरू वास्तविक जीवनमा कार्यान्वयन नभएको बताएकी छन् ।
बिहीबार काठमाडौंमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित अन्तरक्रियामा उनले संविधानले महिलाका लागि थुप्रै राजनीतिक अधिकारहरू रहे पनि त्यसको कार्यान्वयन नभएको भन्दै मानसिकता परिवर्तन गर्नुपर्ने बताएकी हुन् ।
उनले भनिन्, ‘महिलाहरूलाई हिंसा गरिन्छ दाइजोको नाममा, अहिलेसम्म महिनावारी हुँदा छाउगोठमा बस्नुपर्छ भने अर्का तिरको चेतना हेर्दा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री महिला हुनुपर्छ भन्ने चेतना पनि छ । कानुन, संविधान सबै कुरामा राजनीतिक अधिकार लेखेर मात्र हुदैँन् रहेछ । समाज बदल्नुपर्ने रहेछ । समाजको मानसिकता परिवर्तन गर्नुपर्ने रहेछ । यो कुरामा सरकारको तर्फबाट त्यही खालको अभियानहरू चलाउने र प्रशासनिक क्षेत्रबाट त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्ने हो भने मात्र पाएका सबै अधिकारहरू प्रयोग गर्न सक्छौ ।’
यस्तै, उनले अहिलेको सरकार बिस्तारै समावेशिताको अधिकारको विपक्षमा गइरहेको पनि बताइन् ।
उनले भनिन्, ‘अहिलेको सरकारको गतिविधि हेर्ने हो भने सरकार समावेशिताको अधिकारको विपक्षमा गइरहेको छ । संविधान संशोधनका कुराहरू आइरहेका छन्, प्रतिनिधि सभालाई पूर्ण प्रत्यक्ष बनाउने भन्ने कुरा आएको छ । एमाले र काङ्ग्रेसका नेताले बिगार्ने अनि राजनीतिक अस्थिरताको कारण उत्पीडित समुदायलाई न्याय गर्न सक्ने देखिन् ।’
यसका साथै, महिलाहरूको सहभागिता ३३ प्रतिशतबाट ५१ मा पुर्याउनको लागि पहिला ३३ प्रतिशत सफल हुनुपर्ने पनि उनको भनाई छ ।
प्रतिक्रिया