+
Search

ताजा अपडेट +

पपुलर +

कनकासुन्दरी गाउँपालिकाकाे अभियान

बेरोजगार युवालाई रोजगारको लागि पालिकामै ‘ड्राइभिङ तालिम’

पालिका लाइभ
२०८१ फाल्गुन २२, बिहीबार १०:३७ बजे

मुगु- गाउँमा रोजगारी नपाएर युवा विहीन गाउँ हुन थालेपछि कनकासुन्दरी गाउँपालिकाले पालिका भित्र रहेका बेरोजगार युवालाई स्वरोजगार बनाउनका लागि ड्राइभिङ तालिम दिएको छ ।

युवालाई गाउँमै स्वरोजगार बनाएर आत्मनिर्भर भएर जीविकोपार्जनमा सुधार ल्याउन विपन्न गरिब बेरोजगार युवालाई ड्राइभिङ तालिम दिइएको हो ।

जुम्लामा पछिल्लो समयमा गाउँ गाउँमा सडक सञ्जाल जोडिएपछि यातायातका साधनहरू बस्ती बस्ती पुग्न थालेपछि ड्राइभरको माग बढी रहेको अवस्थालाई मध्यनजर गर्दै ड्राइभिङ तालिम दिइएको हो ।

सिप सिकेर कार्यान्वयनमा ल्याएपछि आम्दानी वृद्धि गर्न सकिने सम्भावना भएको हुँदा ड्राइभर पेसा सम्भावनालाई अवसरमा बदल्न तथा युवालाई गाउँमै स्वरोजगार बनाउनका लागि क्याड नेपाल जुम्ला र कनकासुन्दरी गाउँपालिकाको सहकार्यमा बेरोजगार युवालाई ड्राइभिङ तालिम दिएको हो ।

एक जना महिलासँगै आठ जना युवालाई एक महिने ड्राइभिङ तालिम दिएको छ । तालिम पाएपछि गाउँमै केही गर्ने इच्छा शक्ति पलाएको वर्षसनराज बुढाले बताए ।

उनले भने, ‘सबै गाउँ छोडेर पलायन हुँदा आफूलाई पनि जाऊँ जाऊँ लाग्थ्यो । एक महिनाको ड्राइभिङ तालिम पाएपछि अब ऋण जोहो गरेर पनि गाउँमा अटो सञ्चालन गर्ने सोचमा छु । धेरै युवाले अटो चलाएरै घर परिवार चलाएको देखेको छु ।’

कनकासुन्दरी ३ की सरस्वती बुढाले तालिम कार्यान्वयन गरेको खण्डमा कनकासुन्दरीकी पहिलो महिला चालक बन्ने भएकी छिन् । गाउँमा महिला चालक भएपछि कुरा काट्ने चलन छ । उनले भनिन्,‘महिलाले गाडी चलाउनु हुदैन् भन्ने गाउँको संकिर्ण सोच तोड्ने प्रयासमा छु । धेरै महिलाले डोजर टिप्पर बस चलाएको पनि देखेको छु । ढिलो चाँडो सिपको प्रयोग अघि बढाउने सोच छ ।’

क्याड नेपालका अध्यक्ष कृष्ण बहादुर महतले काम विहीन युवालाई स्वरोजगार बनाउन ड्राइभिङ तालिमको योजना बनाइएको बताए । एक महिने तालिम सिक्न महँगो खर्च लाग्थ्यो । तर क्याड नेपालले निःशुल्क रूपमा तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यले तालिम दिएको उनको भनाई छ ।

आफ्नो सीप क्षमतालाई व्यवहारमा लागू गरेमा आर्थिक आम्दानी र जीविकोपार्जनमा सुधार हुने उल्लेख गरे । युवाहरू सीप रोजगार नपाएर पलायन भइरहेको अवस्थामा सवारी चलाएर घर परिवार चलाउन सक्ने इच्छा भएका युवालाई तालिम दिइएको महतले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ