+
Search

ताजा अपडेट +

पपुलर +

सरकार स्वार्थ समूहको हितमा काम गरिरहेको छ : शक्ति बस्नेत

पालिका लाइभ
२०८१ फाल्गुन १८, आईतवार १९:५३ बजे

काठमाडौं– माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले वर्तमान सरकार देश र जनताको आवश्यकतालाई छोडेर सीमित स्वार्थ समूहको हितमा काम गरिरहेको बताएका छन् ।

प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै बस्नेतले एउटा राष्ट्रसेवक कर्मचारीविरुद्ध सरकारले सार्वजनिक मञ्चबाटै विरोधमा उत्रिनु र पटक पटक स्पष्टिरकण सोध्नु शोभनिय कार्य नभएको बताए ।

‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैँ सरकार देश र जनताको आवश्यकतालाई लत्त्याउँदै सीमित स्वार्थ समूहको हितमा काम गरिरहेको छ’ बस्नेतले भने ।

उनले सरकारले आफ्नो असक्षमतालाई लुकाउन कुलमान घिसिङलाई पटक पटक स्पष्टीकरण सोध्ने गरेको बताए । सरकारले दुई तिहाइको बहादुरिता एउटा राष्ट्रसेवक कर्मचारीमाथि नदेखाउन समेत सुझाव दिए ।

नेपाली काँग्रेस र नेकपा एमालेले संविधानको प्रगतिशील चरित्रलाई परास्त गर्न संविधान संशोधनको कुरा अगाडि ल्याएको बताए । व्यवस्था बदलिएको र अब जनताको अवस्था बदल्न लाग्नुपर्नेमा सरकार परिवर्तनका एजेन्डालाई सीमित गर्न लागि परेको बताए ।

पूर्व गृहमन्त्री समेत रहेका बस्नेतले माओवादीको अगुवाइमा अहिलेको परिवर्तन आएको तर त्यसको नेतृत्व अरूले गरेका कारण अहिलेको समस्या देखा परेको बताए । बस्नेतले भने, ‘अहिलेको परिवर्तन माओवादीको पहल र एजेन्डाका कारण सम्भव भएको हो तर नेतृत्व अरूले गरेका कारण त्यसको मूल मर्मअनुसार काम हुन सकेको छैन ।’

सरकार आफैले ल्याएको अध्यादेशका कारण गम्भीर नैतिक संकटमा फसेको बस्नेतले बताए । संसद् नचलेको वा चल्न नसक्ने अवस्थामा अध्यादेश ल्याउन पाउन सरकारको कानुनी अधिकार भए पनि रातारात अध्यादेश ल्याइएको बताए ।

अर्को प्रसंगमा बोल्दै बस्नेतले आफ्नो पार्टीले झापाबाट कञ्चनपुरसम्म हुलाकी राजमार्गमा अभियान जारी राखेको बताए । उनले पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वका सरकारले सुरु गरेको सुशासनको अभियानलाई रोक्न वर्तमान सरकारले लागेको खबरदारी गर्न अभियान सुरु गरिएको बताए । अभियानमा जनताको व्यापक सहभागिता रहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ