+
Search

ताजा अपडेट +

पपुलर +

नगर प्रमुखको छोराबाट कुटाइ खाएका प्रमुख प्रशासकीय अधिकृतलाई काममा अवरोध नगर्न अदालतको आदेश

4KNationalDaily
२०८१ फाल्गुन ९, शुक्रबार १८:२७ बजे

जनकपुर– उच्च अदालत, जनकपुरले धनुषाको विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कुमार साहलार्ई कार्यालय हाजिर गराउन नरोक्न र सहज रूपमा कार्यालयमा काम गर्ने वातावरण मिलाउन आदेश दिएको छ ।

विदेह नगरपालिकाका मेयर र बेचन दासले कार्यालय प्रवेशमा अवरोध गरेको र कार्यालय प्रवेशमा प्रहरीले सहयोग नगरेको भन्दै साहले उच्च अदालत जनकपुरमा रिट दायर गरेका थिए ।

सो रिटको सुनुवाई गर्दै उच्च अदालत जनकपुरका न्यायाधीश खेमराज भट्टको इजलासले फागुन १३ सम्मका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा कामकाजमा अवरोध नगर्न भनेको हो ।

साह गत फागुन २मा विदेहको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका थिए । निमित्तको हैसियतमा कार्यरत साहलाई माघ २८गते नगरप्रमुख दासका छोराले हातपात गरेका थिए ।

सो हातपात भएकै दिन साहले नगरपालिकाका ८० भन्दा बढी कर्मचारीलाई स्पष्टीकरण सोध्ने, बर्खास्त गर्ने तह वृद्धि रोक्का राख्ने, नियुक्ति बदर गर्ने लगायतका काम गरेका थिए ।

यो प्रकरणमा विवाद बढ्दै गएपछि साहलाई नगरपालिकामा हाजिर हुन दिइएको थिएन ।

हाजिर गर्न नदिएपछि जिल्ला प्रशासन कार्यालय पुगेका साहलाई प्रमुख जिल्ला अधिकारीले ४ दिनसम्म कार्यालयमा उपस्थित भएर काम गर्न वातावरण नबनाइदिएपछि साहले उच्च अदालतमा रिट दायर गरेका थिए ।

विवाद भइरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेहको प्रमुख प्रशासकीय अधिकृतका रूपमा उपसचिव मोहन कुमार श्रेष्ठलाई खटाइसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily