+
Search

ताजा अपडेट +

पपुलर +

स्थानीय रैथाने अन्नबाली खरिद गर्दै मुगुम कार्मारोङ गाउँपालिका

4KNationalDaily
२०८१ माघ ३०, बुधबार १२:३३ बजे

मुगु– मुगुम कार्मारोङ गाउँपालिकाले पालिकामा उत्पादन भएको रैथाने अन्न बाली खरिद गरी खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडलाई बिक्री गर्ने सम्झौता गरेको छ । गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामा र कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

गाउँपालिका र व्यापार कम्पनीबीच भएको सम्झौता अनुसार गाउँपालिका भित्रका बस्तीमा सहज, सुलभ र नियमित खाद्यान्न बिक्री केन्द्र स्थापना गरी खाद्यान्नको संकलन, मौज्दात व्यवस्थापन, ढुवानी तथा बजारीकरण प्रभावकारी बनाउँदै स्थानीय स्तरमा उत्पादन हुने रैथाने बालीहरूको संकलन, बजारीकरण र बिक्रीको सुनिश्चितताका लागि सहकार्य तथा सहजीकरण गर्ने मुख्य उद्देश्य रहेको सम्झौता पत्रमा उल्लेख  छ ।

व्यापार कम्पनीले सहुलियतमा उपलब्ध गर्दै आएको खाद्यान्न पालिकामा समयमै ढुवानी गरी कम्तीमा तीन महिनासम्म धान्ने मौज्जाद क्षमता भएको गाउँपालिकाले उपलब्ध गराउनुपर्नेछ । स्थानीय स्तरमा उत्पादन हुने चिनो, कागुनु, भटमास, कोदो, फापर, सिमी, नाफल, उवा लगायतका अन्नबाली गाउँपालिकाले स्थानीयसँग खरिद गरी व्यापार कम्पनीलाई बिक्री गर्ने र खरिद भएको रैथाने बालीलाई सोही गाउँपालिका-९, मा रहेको कोसेली घरमा भण्डारण गरी खाद्य कम्पनीलाई बिक्री गरिने प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले बताए ।

आउँदो पाँच वर्षका लागि भएको सम्झौता अनुसार पालिकामा उत्पादन हुने रैथाने बालीको परिमाण यकिन गरी निश्चित परिमाण कम्तीमा एक ट्रक संकलित रैथाने बाली पुगेपछि कम्पनीले खरिद गरी बजारीकरणका लागि आन्तरिक तथा बाह्य बजार व्यवस्था गर्नेछ ।

यो गाउँपालिकामा रैथाने बालीहरूमा सबैभन्दा बढी कोदो, चिनो, फापर, सिमी, नाफल उत्पादन हुने गर्छ । उत्पादन गरेको रैथाने अन्नबालीले बजार नपाएका बेला गाउँपालिकाले खरिद गर्ने भएपछि स्थानीय नागरिकहरू निकै हर्षित भएको वठा न ९ का वडाध्यक्ष रतनबहादुर बुढाले बताए ।

उनका अनुसार पालिका भित्र कृषकहरूले उत्पादन गरेका स्याउ, चोति, कोईरालगायत अन्य फलफूल कम्पनीसँग पनि सहकार्य गर्न सके कृषकहरूको थप आय आर्जनमा सुधार आउनेछ । गाउँपालिकामा रैथाने अन्नबाली राम्रो उत्पादन भए पनि कुटानी पिसानीका कारण उत्पादन गरेका अन्नबाली उपभोग गर्न सहजता नभएको स्थानीयहरू बताउँछन् ।

गाउँपालिकामा स्थानीयबाट रैथाने बाली खरिदका लागि आउँदो बजेट अधिवेशनमा १५ लाख रुपैयाँ रकम विनियोजित गर्ने भएको छ । कम्पनी, गाउँपालिका र कृषक प्रतिनिधिको सहभागितामा बालीको मूल्य निर्धारण गरिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily