+
Search

ताजा अपडेट +

पपुलर +

साइपालमा एभरेष्ट बैंकले गर्‍यो शाखा विस्तार, ७५३ वटै स्थानीय तहमा पुग्यो बैंकिङ पहुँच

4KNationalDaily
२०८१ माघ २८, सोमबार १८:४५ बजे

काठमाडाैं- बैंकिङ सुविधाबाट वञ्चित मुलुकको एक मात्र गाउँपालिका बझाङको साईपालमा सोमवार एभरेष्ट बैंकको शाखा उद्घाटन गरिएको छ । योसँगै मुलुकका ७५३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ । दुई वर्षअघि नै ७५२ स्थानीय तहमा वाणिज्य बैंकका शाखा स्थापना भएपनि साईपाल गाउँपालिकामा भने हुन सकेको थिएन ।

बैंकको शाखा उद्घाटन गर्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हेलिकप्टरमा साईपाल पुगेका थिए ।

सोमवार बिहान साईपालको धलौनमा एभरेष्ट बैंकको शाखा उद्घाटन गर्दै गभर्नर अधिकारीले बैंकको शाखा स्थापनासँगै नेपालका विकट स्थानहरूमा वित्तीय पहुँच विस्तार गर्ने सरकारको लक्ष्य पूरा भएको बताए ।

बैंकको शाखा स्थापनाको घडीलाई ऐतिहासिक अवसरका रूपमा लिएको उनको भनाइ थियो ।

‘यो मेरा लागि र साईपालका जनताका लागि ऐतिहासिक अवसर हो, गभर्नर अधिकारीले भने, ‘साईपालमा बैंकको शाखा स्थापनासँगै नेपालका विकट स्थानहरूमा वित्तीय पहुँच विस्तार गर्ने सरकारको लक्ष्य पूरा भएको छ । गभर्नर अधिकारीले स्थानीय नागरिकहरूलाई खाता खोलेर बैंकमार्फत कारोबार गर्न आग्रह गरे ।

एभरेष्ट बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष बालगोपाल वैद्यले देशकै विकट र बैकिङ सुविधाबाट वञ्चित साईपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा स्थापना गर्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गरे ।

अध्यक्ष वैद्यले साईपालमा शाखा सञ्चालन गर्नु चुनौतीपूर्ण भएपनि त्यो चुनौती स्वीकार गर्दै एभरेष्ट बैंकले शाखा स्थापना गरेको बताए ।

‘यो मेरो र एभरेष्ट बैंकका लागि महत्त्वपूर्ण अवसर हो’, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले भने, ‘जहाँ कुनै बैंकले सेवा विस्तार गर्न सकेको थिएन, त्यहाँ एभरेष्ट बैंक पुगेको छ । यो हाम्रा लागि गर्वको कुरा हो ।’

उनले बैंकको शाखाको उद्घाटनमा सहभागी भएकोमा गभर्नर अधिकारी लगायत, सम्पूर्ण अतिथि र स्थानीय बासिन्दालाई धन्यवाद दिए ।

साईपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले बैंकको शाखा स्थापना गरेकोमा एभरेष्ट बैंकका अध्यक्ष र गभर्नरलाई धन्यवाद दिए ।

अध्यक्ष बोहराले एभरेष्ट बैंकको शाखा स्थापनाले साईपालका जनताको आर्थिक विकास र समृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा साईपाल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष नरेन्द्र धामी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सडक सञ्जालमा नजोडिएको देशकै दुर्गम साईपाल गाउँपालिका चीनको स्वशासित प्रान्त तिब्बतको नजिकको हिमाली पालिका हो । सुदूर पश्चिममा एभरेष्ट बैंकको यो १४ औँ शाखा हो । देशभरि १३१ शाखा रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily