+
Search

ताजा अपडेट +

पपुलर +

बैंकरलाई उद्योगमन्त्रीको प्रश्न- जनता दुब्लाउँदै जाने, बैंक मोटाउँदै जाने के हो ? (भिडिओ)

4KNationalDaily
२०८१ पुष १९, शुक्रबार १६:४३ बजे

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अर्थतन्त्रमा सुस्तता आउनुमा बैंक तथा वित्तीय संस्थादेखि निजी क्षेत्रसम्म उत्तिकै जिम्मेवार भएको बताएका छन् ।

बैंक तथा वित्तीय परिसंघ नेपाल (सिबिफिन) को पाँचौँ साधारणसभामा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

साधारणसभामा उनले जनता दुब्लाउने र बैंक मोटाउने अवस्था भएको दाबी गरेका छन् । ‘हिजो चर्को ब्याजदर उठाएका बैंकहरूले आज त्यो पैसा कहाँ लगे ?’, उनको प्रश्न छ, ‘बढ्दा पनि बैंक समस्यामा, घट्दा पनि बैंक नै समस्यामा भन्ने हुन्छ र ?’ जनता दुब्लाउँदै जाने र बैंक मोटाउँदै जाने अवस्था हुन नहुने उनले बताए।

मन्त्री भण्डारीले भने, ‘आजको दिनमा बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको छ । बैंकहरूले लगानी गर्न किन सकिरहेका छैनन् ? कि सरकारले लिइरहेकै छ, किन जोखिम लिनुपर्‍यो भनेर लगानी नगरिएको हो ?’ घरजग्गामा मात्रै ऋण दिने गरिएकोले क्षमता भएकाहरूलाई बैंकले ऋण नदिएकोमा मन्त्री भण्डारीले आपत्ति जनाए । जनता मारमै रहने तर बैंकहरू मोटाउँदै जान नहुने उनको तर्क छ ।

‘सरकारले कहाँबाट बाजा बजाउँछ र आफूहरू नाफा कमाउँ भन्नेमा निजी र वित्तीय क्षेत्र छन्’, उनले भने, ‘हामी सम्भावनालाई छोड्दै गइरहेका छौं । कृषि क्षेत्रमा बैंकहरूको लगानी कति छ ? उद्योगमा लगानी कति छ ?’ अर्थतन्त्रमा आएको शिथिलतालाई कसरी सुधार गर्न सकिन्छ भन्ने मुख्य कुरा रहेकाले एक अर्काको टाउको देखाएर पन्छिने काम गर्न नहुने भण्डारीले बताए ।

अहिलेका चुनौतीहरूलाई समाधान गर्नका लागि यो सरकार बनेको समेत उनले दाबी गरे।

अहिले सबै पालिकामा वित्तीय संथा पुगेकोले सबै सर्वसाधारणले सेवा लिइरहेको समेत उनको भनाइ थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily