+
Search

ताजा अपडेट +

पपुलर +

कर्णाली याक्सको दोस्रो जीत, विराटनगर ७ रनले पराजित 

4KNationalDaily
२०८१ मंसिर २२, शनिबार १६:३४ बजे

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले दोस्रो जीत निकालेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न शनिबारको दोस्रो खेलमा विराटनगर किङ्सलाई हराउँदै कर्णाली याक्सले दोस्रो जीत दर्ता गराएको हो ।

यसअघि कर्णाली याक्सले शुक्रबार चितवन राइनोजलाई ६ विकेटले हराउँदै पहिलो जीत निकालेको थियो । दोस्रो जीत हात पर्ने क्रममा शनिबार कर्णाली याक्सले सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरलाई ७ रनले पराजित गरेको छ ।

विराटनगरलाई दिएको १३४ रनको लक्ष्य रोक्न कर्णाली याक्सका लागि नन्दन यादवले ३ र विपिनप्रसाद शर्माले २ विकेट लिए । कप्तान सोमपाल कामी, विलियम बोसिस्टो र युनिश सिंह ठकुरीले समान १–१ विकेट लिए ।

विराटनगरका लागि ३९ बल खेलेका निकोलस किर्तोनले ४० रन बनाए । लोकेश बमले ९ बलमा १९ र दीपक बोहराले १२ बलमा १८ रन जोडे पनि विराटनगरका अन्य खेलाडीले राम्रो योगफल तयार गर्न सकेनन् ।

उसका लागि मार्टिन गप्टिलले ४, बसिर अहमद र अकिब इलियासले समान ८–८, नरेन भट्टले ७ र कप्तान सन्दीप लामिछानेले ६ रनमात्र जोड्न सके । क्रिस सोल १ बल खेलेर शून्य रनमा आउट भए ।

यसअघि देव खनाल र विलियम बोसिस्टोको अर्धशतकीय पारीमा कर्णाली याक्सले विराटनगर किङ्स सामु १३४ रनको लक्ष्य पेश गरेको थियो । कर्णाली याक्सका लागि देव खनालले ४८ बलमा ५३ रन बनाउँदा विलियम बोसिस्टोले कर्णाली याक्सका लागि ४९ बलमा ६६ रनको योगदान दिएका थिए ।

शिखर धवन ५ र चाणविक वाल्टन १ रनमै पभेलियन फर्किएका थिए । यस्तै गुलसन झा १ बल खेलेर बिना कुनै रनमा आउट भएका थिए । कर्णाली याक्सका लागि जिसन मकसुदले ३ बल खेलेर २ रन जोड्दा अर्जुन घर्तीले ४ बलमा मात्र १ रनको योगदान दिए । नन्दन यादव, विपिनप्रसाद शर्मा भने बिना कुनै रन पभेलियन फर्किनु परेको थियो ।

विराटनगर किङ्सका लागि प्रतिश जीसीले ४ विकेल लिँदा वसिर अहमद र क्रिस सोलले समान २–२ विकेट लिएका थिए । अकिब इलियासले कर्णाली याक्सको १ विकेट झारेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily