+
Search

ताजा अपडेट +

पपुलर +

मन्त्री पाण्डेले सांसद बजगाइँमाथि लगाए ‘बिचौलिया’को आरोप, घुस लिएको प्रमाणित गर्न चुनौती

4KNationalDaily
२०८१ कार्तिक २७, मंगलवार १७:०३ बजे

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मतियार र बिचौलियासँग कहिल्यै पनि सम्झौता नगर्ने बताएका छन्।

मंगलबार नेपाल विद्याश्रम संस्कृत माध्यमिक विद्यालयको स्वर्ण महोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्।

इमानदार भएर काम गर्न खोज्नेहरुलाई स्वार्थ समूहका कारण घेराबन्दीमा पार्न खोजिएको उनको दाबी छ।

‘पहिला राजनीति गर्ने व्यक्तिहरु बलियो हुनुहुन्थ्यो। अहिले स्वार्थ समूहकाहरु शक्तिशाली भएको देखिरहेको छु’, उनले भने, ‘मैले तीन/चार महिनाको अवधिमा निष्ठापूर्वक काम गरिहँदा केही स्वार्थ समूहका मतियारले मलाई मानमर्दन गर्ने, मेरो मनोबल, आत्मबल गिराउने गरी काम गरिरहेका छन्।’

मन्त्री पाण्डेले पशुपतिनाथको मन्दिर अगाडि प्रतिज्ञा गरेको भन्दै करोड खाएको कुरा केही अनलाइनहरुलाई प्रयोग गरेर केही बिचौलियाका मतियारहरुले आरोप लगाएको उल्लेख गरे।

‘करोड त के कौडी खाएको खाएको पुष्टि गरेको दिन म पशुपतिको ढोकाअगाडि आएर मेरो राजनीतिक जीवन परित्याग गर्ने प्रतिज्ञा गर्न चाहन्छु’, उनले भने।

उनले आफू स्वार्थ समूहका मतियार र बिचौलियाहरुसँग कहिल्यै पनि सम्झौता नगर्ने समेत बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily