+
Search

ताजा अपडेट +

पपुलर +

नागरिक उड्डयन प्राधिकरणलाई छुट्टाउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसक्यो- मन्त्री पाण्डे

4KNationalDaily
२०८१ भाद्र ३१, सोमबार २०:३४ बजे

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको प्रस्ताव तथा नागरिक उड्डयनका क्षेत्रमा नियामक र सेवा प्रदायक निकायलाई छुटाउने गरी बनेको विधेयक मन्त्रीपरिषद्मा पेश भइसकेको बताएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले उच्च अदालतका पूर्व न्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानिबिन समितिको प्रस्ताव मन्त्रिपरिषद्मा प्रवेश भइसकेको बताएका हुन् ।

उनले भने- ‘हालसम्म भएका विमान दुर्घटनाको विषय क्याबिनेटमा पुगिसकेको छ । उच्च अदालतको पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बन्दै छ ।’

यसै गरी उनले हवाई उड्डयनमा नियामक र सेवा प्रदायक निकायलाई छुटाउने गरी बनेको विधेयक अर्थ, कानुन मन्त्रालय हुँदै हाल मन्त्रिपरिषद्को विधेयक समितिमा पुगे सकेको बताए ।

उनले भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि अन्तर मन्त्रालय स्तरमा काम भइरहेको जानकारी गराए ।

उनले अहिले प्रस्तावित छानिबन समितिमा यस अघिका कार्यदलले बनाएका अध्ययन प्रतिवेदनहरूलाई रिफ्रेन्सका रूपमा लिएर अघि बढ्ने जानकारी गराए । उनले अध्ययनले दिएको प्रतिवेदन कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे ।

मन्त्री पाण्डेले हवाई दुर्घटनाका विषयमा संसदमा समेत सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएर छलफल समेत भइसकेको बताए ।

मन्त्री पाण्डेले मन्त्रालय र मातहतका निकायमा संस्थागत र संरचनागत कुरामा सुधार गर्दै अघि बढिरहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily