+
Search

ताजा अपडेट +

पपुलर +

शेरबहादुर देउवाले नै यो सरकार बिचौलियाले बनाएको स्वीकार गरिसके : वर्षमान पुन

4KNationalDaily
२०८१ भाद्र १८, मंगलवार १९:०४ बजे

काठमाडौं– माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार बिचौलिया व्यापारीले निर्माण गरेको भन्ने आफूहरूको आरोप पुष्टि भएको बताएका छन् ।

अखिल क्रान्तिकारी रुपन्देहीको २३औँ जिल्ला सम्मेलनको मंगलबार उद्घाटन गर्दै पुनले आफूहरूले भन्दै आएको विषय कांग्रेस सभापति शेरबहादुर देउवाले स्वीकार गरेको बताए ।

‘हाम्रा अध्यक्ष प्रचण्डले संसद्को रोस्ट्रमबाटै बिचौलिया र भ्रष्टाचारी समात्न थालेपछि उनीहरुले हामीलाई सरकारबाट निकाले, कांग्रेस-एमालेलाई मिलाइदिए भन्नुभएको थियो’, पुनले भने, ‘पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले एक व्यापारीको नाम लिएर भनेको सुनियो, उहाँलाई केपीजीको मात्र मान्छे भन्छन् । उहाँ हामी दुवैको साझा मान्छे हो । उहाँको वर्तमान सरकार बनाउन निकै ठुलो भूमिका छ भनेर स्वीकार गर्नुभयो ।’

आफूहरूले सुरुदेखि नै भन्दै आएको उक्त विषयबारे सत्ताबाट हट्नुपर्दाको पीडास्वरुप माओवादीले पूर्वाग्रहपूर्ण टिप्पणी गर्नेहरूले समेत सरकार बिचौलियाले नै बनाएका रहेछन् भन्न थालेको उनको भनाइ थियो ।

ओली सरकारलाई जनताले कालाकाले मिलेर खाऔंवालाहरुको सरकार भनिरहेका बेला देउवाले बिचौलिया र भ्रष्टाचारीहरू मिलेर माओवादीलाई बाहिर निकालेर आफूअनुकुल कांग्रेस–एमाले सरकार बनाएको स्वीकार गरेको टिप्पणी गरे ।

उनले अहिलेको सरकारले जनताको विकास र सुशासनको अपेक्षा सम्बोधन नगर्ने भन्दै सरकार निर्माणमा संलग्न बिचौलिया वर्गको सेवा गर्ने आरोप लगाए ।

पुनले गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता र धर्मनिरपेक्षताको एजेण्डामा कांग्रेस–एमालेलाई माओवादीले सहमत गराएर सहकार्य गरेको भए पनि सुशासनको एजेण्डामा कुरा नमिलेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily