काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले अर्थतन्त्रमा रहेको मन्दीलाई चिर्न कार्यक्रमहरू बनाइरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले अर्थतन्त्रलाई सबल बनाउन कार्यक्रमहरू बनाइरहेको बताएका हुन् ।
उनले आम नेपालीको अपेक्षालाई मूर्त रूप दिन वर्तमान सरकार बनेको जिकिर गरे ।
उनले देशको अर्थतन्त्रमा सुधार ल्याउन, सामाजिक रूपमा हुनुपर्ने काममा रहेका बाधा अड्चन हटाउन र देशमा सुशासन कायम गर्न सरकार लागिपरेको जिकिर गरे ।
आफूहरू पदमा गएर झन्डा फरफराएर, आनन्द लिनका लागि राजनीतिमा नलागेको भन्दै उनले देशको अवस्थालाई राम्रोसँग बुझेर भएका अप्ठ्यारा पन्छाएर जनतालाई राहत दिन अघि बढिरहेको बताए ।
उपप्रधानमन्त्री सिंहले काठमाडौँको १ नम्बर निर्वाचन क्षेत्रको विकास निर्माणका काममा प्रभावकारीताका साथ अघि बढ्ने प्रतिबद्धता जनाए ।
सरकार नै राम्रोसँग नटिक्ने जनताको गुनासोपछि संसद्को सबैभन्दा ठुलो दल कांग्रेस र एमाले मिलेर सरकार गठन गरेको उनले बताए ।
प्रतिक्रिया