+
Search

ताजा अपडेट +

पपुलर +

यो सरकार बिचौलियाले बनाएको घटनाक्रमले पुष्टि गरेको छ : वर्षमान पुन

4KNationalDaily
२०८१ श्रावण १९, शनिबार १७:५० बजे

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपाली कांग्रेस र नेकपा एमालेलाई ‘बिचौलिया र दलाल पुँजीपति वर्ग’ले मिलाइदिएको आरोप लगाएका छन्।

शनिबार माओवादी केन्द्रको काठमाडौं-दोरम्बा सम्पर्क मञ्चले राजधानीमा गरेको कार्यक्रममा बोल्दै पुनले प्रचण्ड नेतृत्वको सरकारले सुशासन कायम गर्न सञ्चालन गरेको भ्रष्टाचारविरोधी अभियानबाट तर्सिएर राजनीतिक समीकरण फेरेको पछिल्लो घटनाक्रमहरुले पुष्टि गरेको बताए।

बिचौलियाहरुले नेपालमा प्रधानमन्त्री र मन्त्रीहरुको नियुक्ति र सचिव सरुवा गर्ने हैसियत बनाएको भन्दै उनले यो अवस्था अब लामो समयसम्म रहन दिन नहुने उल्लेख गरे।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा करोडमा नभई अर्बमा लेनदेन भएकाले प्रधानमन्त्री प्रचण्ड र आफूले हिम्मतसाथ बिचौलियाको चाहनामा काम नगरेको उनको भनाइ थियो।

‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा भएको त्यही हो,’ पुनले भने, ‘प्रधानमन्त्री र मैले बिचौलियाले भनेअनुसार नियुक्ति सरुवा र बढुवा गर्न नमानेका कारण हामीलाई सरकारबाट हटाइयो। हामीले बिचौलियाको हित हुने गरी धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न इन्कार गरेकै हौं। भ्रष्टाचारविरुद्ध लड्दा सरकारबाट निकालिएका छौं। यो जनताले बुझेका छन्।’

सरकार कसले र केका लागि बनाएको थियो भन्ने विषयको पटाक्षेप ट्रंक लाइन र डेडिकेटेड लाइनको विद्युत महसुल नतिर्ने व्यवसायीहरुलाई सरकारले संरक्षण गरिरहेबाटै भएको पुनले जिकिर गरे।

उनले दुई ठूला दलले संविधानमार्फत जनताले प्राप्त गरेका अधिकार खोज्ने र मुलुकलाई पछाडि फर्काउने गरी संविधान संशोधनको सहमति गरेको भन्दै त्यो सफल हुन नदिइने चेतावनी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily