महोत्तरी– गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाइन्छ भन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछि पाइने विशिष्ट चिसो मौसमले यसलाई पुष्टि गर्दछ । यो खबर थाहा पाएपछि मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरूको गर्मी छल्ने सबैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई समेत बन्न सक्छ ।
किनभने विहारका जिल्लाहरूबाट यहाँ ३५ किलोमिटर मात्र दुरीमा छ भने मधेश प्रदेशको मध्य विन्दुमा पर्दछ । छोटो दुरीमा उच्च पहाडी जिल्लाको जस्तो हावापानी र मनोरम दृश्य अवलोकन गर्न पाइने यो ठाउँ मधेश र विहारका मानिसहरूका लागि कम खर्चिलो समेत बन्ने देखिन्छ ।
बर्दिबास नगरपालिकाको खयरमारावाट ४ किलोमिटर मात्र माथि उक्लेपछि पाइने हावापानी बाह्य र आन्तरिक पर्यटक भित्र्याउन सकिने महत्त्वपूर्ण आधार वनेको छ । ‘जुनार र सुन्तला पनि यहाँ पाइन्छ । त्यसो हुँदा कत्ती चिसो हावापानी पाइन्छ भन्ने भनिरहनु नै परेन’, उद्योग वाणिज्य संघ बर्दिबासका चौधरी महतोले भने, ‘यो मधेशको दोस्रो भेडेटार जस्तै बन्न सक्छ ।’
प्रचण्ड गर्मी छल्ने उपयुक्त पर्यटकीय गन्तव्य बनाउन सकिने गतिलो आधार भएतापनी प्रचारप्रसारको अभावमा गुमनाम देखिएको चनौटे डाँडो अथाह पर्यटकीय सम्भावना बोकेर बसेको विविधतायुक्त विशेषताहरूले नै प्रमाणित गर्दछ ।
‘प्रचुर सम्भावनाहरू बोकेर पनि ओझेलमा परिरहेको छ’ वडाध्यक्ष गोपाल वलले भन्छन् ‘गर्मी छल्न उच्च पहाडी जिल्लामा जाने तराईवासी र नजिकै सिमाना जोडिएको विहारका मानिसहरूलाई यतै रोक्न सकिन्छ ।’
यतिवेला मधेशमा अत्यधिक गर्मी छ । यहाँका मानिसहरू चिसो हावापानीको खोजीमा पहाडी र हिमाली जिल्लाहरूमा जाने क्रम बढेको छ भने नजिकै सिमाना जोडिएको भारतको विहार प्रदेशका मानिसहरू गर्मी छल्न केही दिनका लागि भएतापनी सिन्धुली, रामेछाप, दोलखा जस्ता जिल्लाहरूमा बाक्लै जाने गरेको तथ्यांकले देखाउँछ ।
औपचारिक मापन हुन नसकेतापनी स्थानीयहरू यो ठाउँ मधेशको नै सर्वोच्च चुरे पहाड भएको दाबी गर्छन् । १० बर्षे जनयुद्ध हुर्काउन उर्वर भुमिकोरुपमा प्रयोग भएको यो ठाउँलाई माओवादीका पूर्व लडाकुहरूले अहिले पनि निक्कै श्रद्धाका साथ लिने गर्दछन् । यसैकारणले यो ठाउँमा सहिद पार्कको प्रारम्भिक शिलान्यास गरिएको थियो । जसलाई प्रधानमन्त्री प्रचण्ड स्वयम् पुगेर शिलान्यास गरेका थिए ।
स्थानीयका अनुसार विकटताका कारण निर्माण सामाग्री पुर्याउन नसक्दा केही योजनाहरूमा अपुरा नै वने । ‘नेपालको रुकुम, रोल्पा भनेर चिनिने यो ठाउँ जत्ति मनोरम छ त्यति नै ऐतिहासिक विरासत समेत बोकेको छ’, स्थानीय विष्णु भण्डारीले भने, ‘मधेशको छोटो दुरीमा पाइने यो हावापानी वास्तवमा प्राकृतिक वरदान हो ।’
भौगोलिक भू-धरातल र फुसका घरहरूले निक्कै विकट लाग्ने यो ठाउँबाट पुरै तराई नियाल्न सकिन्छ । समुन्द्री सतहबाट झन्डै ७ सय मिटर उचाइमा रहेको यो ठाउँलाई कतिपयले प्राकृतिक भ्यु टावर पनि भन्ने गर्दछन् । स्थानीयका भनाई अनुसार दुई दशक अघिसम्म यहाँ घनावस्ती थियो । विकटता कै कारण मानिसहरू बसाई सरेर कतिपय बर्दिबास पुगे भने कतिपय खयरमारा बजारतिर आएर बसे ।
औलो रोगबाट बच्न खयरमाराका मानिसहरू समेत यहीँ डाँडामा आएर बस्ने गरेको स्थानीय काजी बहादुर कार्की वताउछन ।
यहाँबाट गौरिसंकर हिमालदेखि प्रदेशको राजधानी जनकपुरधामसम्म देख्न सकिन्छ भने मधेशका चुरे शृङ्खलाहरूलाई स्पष्ट दृश्यावलोकन गर्न सकिन्छ । सिन्धुलीको गढी समेत देख्न सकिने यो ठाउँलाई कतिपयले दोस्रो गढीकोरुपमा समेत व्याख्या गर्ने गरेका छन् ।
अचम्मलाग्दो त काहानिर छ भने यो ठाउँमा जुनार र सुन्तलाका बोटहरू देखिनु मधेशकोलागी सबैभन्दा अनौठो विषय हो । उच्च पहाडी भेगमा पाइने सुन्तला, जुनार पाइनुले पनि यहाँको हावापानीलाई आफै प्रमाणित गरेको छ ।
पर्यटकीय गन्तव्यको खोजी अभियान अन्तर्गत बर्दिबास उद्योग वाणिज्य संघको नेतृत्वमा शनिवार यहाँ पुग्दा धेरै मानिसहरूले चनौटे डाँडालाई मधेशको हिमालकोरुपमा चित्रण गरे ।
उद्योग वाणिज्य संघ बर्दिबासका अध्यक्ष विष्णु खडकाले चनौटे डाँडा मधेशको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने र यसलाई सरोकारवालाहरूको ध्यानाकर्षण हुनुपर्ने बताए । उनले यो उचाइबाट दृश्यावलोकन गर्न सकिने मधेशका फाटहरु र चुरे शृङ्खला थप आकर्षण रहेको बत्ताउँदै बर्दिबास नगरपालिकाले प्रचारप्रसार र पर्वद्वनमा कार्य योजना बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिए ।
बर्दिबास नगर सांस्कृतिक तथा पर्यटन पर्वद्वन समितिले पनि चनौटे डाँडाको विषयमा थप खोज र अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको छ ।
समितिका अध्यक्ष हिरा गौतमले मधेश र विहारमा प्रचण्ड गर्मी कारण चिसोको खोजीमा रहेका आन्तरिक र बाह्य पर्यटकको लागि चनौटे डाँडा महत्त्वपूर्ण रहेको बत्ताउँदै यसलाई थप प्रचारप्रसार गर्ने बताए ।
बिशाल बस्नेत/न्युज कारखाना
प्रतिक्रिया