गोरखा– प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा नौ महिनाको अवधिमा केवलकार चढेर ८ लाखभन्दा बढी धार्मिक पर्यटकहरू पुगेका छन् । गएको असारदेखि चैत महिनासम्म मनकामना केवलकार हुँदै ८ लाख २५ हजार धार्मिक पर्यटकहरू मनकामना केवलकार चढेर मनकामना मन्दिरमा पुगेको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।
तथ्याङ्क अनुसार गतबर्षको सोही अवधिको तुलनामा केवलकार हुँदै मनकामना मन्दिर पुग्ने धार्मिक पर्यटकहरूको संख्या बढेको पाइएको छ । गतबर्ष साउनदेखि असारसम्म केवलकार हुँदै ७ लाख ६० हजार मात्र दर्शनार्थीहरु मनकामना मन्दिर पुगेका थिए । ‘अघिल्लो वर्ष कोरोना संक्रमणका कारण यात्रुको संख्यामा कमी भए पनि अहिले बिस्तारै लयमा फर्किएको छ’, उनले भने, ‘केवलकार चढेर मनकामना मन्दिर पुग्ने दर्शनार्थीको संख्या बढ्दै गएको छ ।’
मनकामना मन्दिरसम्म पुग्नका लागि मनकामना केबलकारबाट सबैभन्दा छोटो दुरी भएकाले पनि अघिकांस युवायुवती महिला तथा बालबालिका र बृद्वबृद्वाहरु केवलकार चढेर मन्दिरमा पुग्ने गर्दछन् । मनकामना मन्दिर नेपालबाहेक भारतीय तिर्थयात्रीहरुको पनि प्रमुख रोजाइको धार्मिक गन्तव्यको रूपमा चिनिँदै आएको छ ।
मन्दिरमा पुगेका मध्ये भारतीय तिर्थयात्रीहरु मात्र २ लाख २० हजार भन्दा बढी रहेका छन् । त्यसबाहेक ४ हजार अन्य विदेशी नागरिकहरू पनि केवलकार हुँदै मनकामना मन्दिरमा पुगेको तथ्याङ्क छ । मन्दिरमा पुगेका मध्ये ६ लाख १ हजार नेपाली धार्मिक पर्यटक रहेका छन् । चालु आर्थिक वर्षको असारसम्ममा मनकामना केवलकार हुँदै १२ लाख भन्दा बढी तिर्थयात्रु मनकामना मन्दिर पुग्ने अनुमान गरिएको छ ।
गत आर्थिक वर्षमा मनकामना केवलकार हुँदै ११ लाख १२ हजार दर्शनार्थी मनकामना मन्दिरमा पुगेका थिए । ‘कोरोना कारण मनकामना मन्दिर आउनेको संख्यामा कमी आएको थियो’, उनले भने, ‘यसबर्ष उक्त संख्या बढेर १२ लाखभन्दा माथि पुग्ने अनुमान गरिएको छ ।’ मन्दिर आउनजानका लागि सहज हुने भएकाले पनि मनकामना मन्दिर पुग्ने तीर्थयात्री र धार्मिक पर्यटकहरू केबलकार चढेर ओहोरदोहोर गर्ने गर्दछन् ।

मनकामना मन्दिर
नेपाल एकीकरणको इतिहास, धार्मिक महत्त्व र सामाजिक सद्भावसँग जोडिएको मनकामना मन्दिर गोरखा जिल्लाको पवित्र धार्मिकस्थल हो । मन्दिरमा भाकल गरेपछि मनको इच्छा पुरा हुन्छ भन्ने विश्वास रहेकाले यस मन्दिरको नाम मनकामना मन्दिर राखिएको जनविश्वास रहेको पाइन्छ ।
प्रतिक्रिया