पाेखरा- नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलले दीर्घकालीन असर गर्ने निर्णय नगर्न गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ।
दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले आइतबार बसेको दलको बैठकले सो निर्णय गरेको जानकारी दिए।
‘सरकार अल्पमतमा परेर काम चलाउको अवस्थामा परिणत भइसकेकाले दीर्घकालीन असर पर्ने खालका कुनै पनि निर्णय नगर्न सचेत गराइएको छ’, उनले भने।
बैठकले परिवर्तित अवस्थामा दलका तर्फबाट आवश्यक संवाद र समन्वयका लागि दलका नेता खगराज अधिकारीलाई जिम्मा दिने निर्णय गरेको छ।
गण्डकी प्रदेशमा नयाँ सरकार निर्माणका प्रक्रियामा सहज र स्वभाविक राजनीतिक निकासका लागि वातावरण तयार गर्न सम्बद्ध सबै पक्षलाई आह्वान गर्ने निर्णय बैठकले गरेको प्रमुख सचेतक नेपालीले बताए।
गण्डकीमा नेपाली कांग्रेसका संसदीय दलका दलका नेता सुरेन्द्रराज पाण्डकाे नेतृत्वका सरकार बनेकाे थियाे। माओवादी केन्द्रले समर्थन फिर्ता लिएसंगै पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको छ। उनले एक महिनाभित्र विश्वासकाे मत लिनु पर्छ ।
प्रतिक्रिया