काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारलाई काँध फेर्ने छुट नभएको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन छोडेर एमालेसँग गरेको गठबन्धनलाई काँध फेरेको भनेर भइरहेको चर्चाका बीच एमालेका प्रमुख सचेतकले खबरदारी गरेका हुन्।
‘यो सरकार लुलो हुने छुट छैन। यो सरकारलाई कमजोर हुने छुट छैन। असफल हुने छुट छैन। यो सरकारले समग्र देशको हितमा काम गर्ने सामर्थ्य राख्नुपर्छ। हिँड्दाहिँड्दै काँध गल्यो भने पनि काँध फेर्ने छुट छैन। हिँड्दाहिँड्दै आफ्नै भारीले थिचिने अवस्थाको वातावरण बनाउने छुट छैन’, बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले भने।
बर्तौलाले यतिबेला एमालेसहितको सहभागितामा नयाँ सरकार बनेको भन्दै आफूहरूको आसनहरू परिवर्तन भएको बताए।
‘देशप्रतिको जवाफदेहिता फेरिएको छैन। जनताप्रतिको कर्तव्यमा बदलाव आएको छैन। यो सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ। यो सरकारले विकास, समृद्धि, सुशासन र सामाजिक न्यायलाई ध्येय बनाएर काम गर्नुपर्छ’, उनले भने।
प्रतिक्रिया