गोरखा– भीमसेन थापा गाउँपालिकाले दुर्घटनामा परेका आफ्ना नागरिकहरूलाई दुर्घटना बिमा मार्फत उपचार बापतको रकम भुक्तानी गरेको छ ।
पालिका भित्रका सबै नागरिकहरुकोे निःशुल्क रूपमा सामूहिक दुर्घटना बिमा गरिदिएको गाउँपालिकाले कार्यक्रम लागू भएपछि दुर्घटनामा परेका दुई जना नागरिकहरूलाई बिमा पोलिसी अनुसार उपचारका क्रममा खर्च भएको रकम बिमा मार्फत भुक्तानी गरेकाे हाे ।
‘‘खाटमा सुतेका बेला लडेर घाइते भएका वडा नम्बर ७ स्थित बोर्लाङका डिल्लीराम रेग्मी र धान कुट्ने मिलले औँला काटेर घाइते हुनुभएकी कल्पना श्रेष्ठलाई शनिवार वडामै पुगेर उपचार खर्च उपलब्ध गराइएको हो,’ गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जाराले भने ‘‘पालिकाले राष्ट्रिय बिमा कम्पनी लिमिटेडसँग गरेको सम्झौता अनुसार दुर्घटनामा परेका नागरिकहरूले उपचार खर्च पाएका छन् ।’
गएको असार ३१ गते खाटबाट लडेर घाइते भएकी रेग्मीले उपचारका लागि खर्च भएको ९ हजार ५७० रुपैयाँ र गएको कात्तिक २ गते मिलले हात काटेर घाइते भएकी श्रेष्ठले उपचारमा भएको खर्च ३ हजार ३२५ रुपैयाँ बिमा मार्फत प्राप्त गर्नुभएको हो । ०८० ज्येष्ठ १५ गते १६ औँ गणतन्त्रको अवसरमा पालिका र राष्ट्रिय बिमा कम्पनी बिच पालिका क्षेत्र भित्रका १६ हजार ९८६ जनाको प्रतिव्यक्ति ५० हजार बराबरको सामूहिक दुर्घटना बिमा सम्झौता भएको थियो ।
राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन आधारमा पालिकामा बसोबास गर्दै आएका तथा पालिका स्थायी ठेगाना भएका सबै नागरिकहरूको सामूहिक दुर्घटना बिमा गरेको अध्यक्ष बन्जाराको भनाई छ ।
नेपालभर भीमसेन थापा गाउँपालिका स्थायी घर भएका नागरिक कुनै पनि प्रकारको दुर्घटना परे उपचार बिमा पोलिसी अनुसारको खर्च र ज्यान गुमाएमा सम्बन्धित व्यक्तिका परिवारले ५० हजार रुपैयाँ पाउने गरी पालिकाले आफ्ना नागरिक निःशुल्क दुर्घटना बिमा गरिदिएको उनले बताए ।
प्रतिक्रिया