+
Search

ताजा अपडेट +

पपुलर +

पोखरा र लुम्बिनी विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गर्‍योः ओली

4KNationalDaily
२०८० मंसिर २३, शनिबार १४:२६ बजे

गोरखा- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गरेको बताएका छन्।

मध्यपहाडी क्षेत्र केन्द्र पार्टीको संकल्प यात्राका क्रममा गोरखामा आयोजित कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले विमानस्थल सञ्चालनका लागि सरकारले जोड दिनुपर्ने बताए।

विमानस्थल चलाउन पाउँदैनौ भनेर भित्र भने पनि बाहिरबाट कुनै शक्तिले भन्न नसक्ने उनको भनाइ छ। चीनलाई पर्यटक ल्याउन आग्रह गर्ने हो भने पनि वार्षिक ५ देखि १० लाख पर्यटक ल्याउनसक्ने भन्दै उनले सरकारले विमानस्थल सञ्चालनमा जोड दिनुपर्ने बताए।

अध्यक्ष ओलीले सरकारले सार्वभौम सत्ता, स्वाधीनताको र स्वतन्त्रताको उपयोग गर्ने हुति राख्नुपर्ने बताए। लिम्पियाधुरा, लिपुलेक, कालापानीको प्रश्न उच्चस्तरका भ्रमणका क्रममा राख्न नसक्ने कुरा देशप्रतिको बेइमानी भएको ओलीले टिप्पणी गरे।

अध्यक्ष ओलीले भने, ‘विमानस्थल कसैले चलाउन पाउँदैनौ भनेर भित्र भनेको होला, बाहिर त भन्न सक्दैन नि। त्यसकारण एयरपोर्ट त चल्नुपर्छ नि। चीनलाई मात्रै टुरिस्ट लिएर आउ भन्यो भने ५, १० लाख पयर्टक त चीनले ल्याउँछ, पोखरा एयरपोर्टमा, आफ्नै प्लेनबाट। लुम्बिनी चलाउनुपर्‍यो नि। बुद्धिस्टहरुको ओइरो लाग्छ। एयरपोर्ट बनेको छ, आफ्नै जमिनमा बनेको हो, आफ्नै जमिनबाट उडाउने र ल्याण्ड गर्ने हो। के समस्या छ ? तर सरकार यस्तो छ, पोखरामा पनि एयरपोर्ट उद्घाटन भएछ होइन, भनेपछि अँ बनाइहाले भन्ने तरिका छ। उद्घाटन भयो, अब चलाइन्छ भन्नु परेन। हाम्रो सार्वभौम सत्ता, स्वाधिनताको, स्वतन्त्रताको उपयोग गर्ने हुति राख्नुपर्छ। लिम्पियाधुरा, लिपुलेक, कालापानीको प्रश्न, हाम्रा उच्चस्तरका वार्तामा समावेश हुन सक्दैन भने त्यो भन्दा देशप्रतिको बेइमानी के हुन्छ?’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily