+
Search

ताजा अपडेट +

पपुलर +

पैसाको अभावमा उपचार नपाएर कसैले ज्यान गुमाउनु पर्दैन, त्यसको ग्यारेन्टी म लिन्छु : मन्त्री बस्नेत

4KNationalDaily
२०८० श्रावण १५, सोमबार १६:१६ बजे

धुलिखेल– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले पैसाको अभावमा उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था हुनु नहुने बताएका छन् ।

सोमबार धुलिखेलमा मन्त्री बस्नेतले पैसा नभएका कारण उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था नभएको बताएका हुन । मन्त्री बस्नेतले भने,‘ स्वास्थ्य मन्त्रीका हैसियतले त्यसको ग्यारेन्टी मैले लिन्छु ।’

बस्नेतले आफूले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेपछि देश भरिका १६ वटै संघीय अस्पतालहरूका ३ हजार ५ सय २३ शैया विपन्नका लागि निःशुल्क गरेको बताउँदै सम्पूर्ण निजी अस्पतालहरूले १० प्रतिशत शैया विपन्नका लागि निःशुल्क गर्ने कानुनी प्रावधानलाई कडाइका साथ लागु गराएकोले बिरामीको उपचारमा धेरै हदसम्म सहज भएको दाबी गरे ।

दुई वर्षभित्र सबै नेपालीलाई निःशुल्क रूपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने र पाँच वर्ष भित्र हरेक प्रकारका स्वास्थ्य सेवा प्रदान गर्न सक्ने आधार स्तम्भ तयार पार्न आफू लागेको बताउँदै स्वास्थ्यमा कुरा भन्दा काम गर्दै अगाडि बढेको जानकारी दिए ।

सानोतिनो रोगको उपचारका लागि भिआइपी र भिभिआइपीहरू विदेश जाने र करोडौँ राज्यकोको खर्च हुने गरेको जन गुनासो प्रति इङ्गित गर्दै बस्नेतले भिआइपी र भिभिआइपीका लागि पनि वीर अस्पताल पाँच शय्याको कक्ष निर्माण गरेर १५ जना विशेषज्ञ चिकित्सकको टिम बनाइदिएको बताए ।

वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु गरेपछि उपचारका लागि वीर जाने बिरामीको सङ्ख्या ४० प्रतिशतले बढेको पाइएको बस्नेतको दाबी छ । धुलिखेल अस्पतालले नेपालीको स्वास्थ्य उपचारमा गरेको योगदानको प्रशंसा गर्दै मन्त्री बस्नेतले धुलिखेल अस्पतालले निकट भविष्यमा निर्माण गर्न लागेको  ट्रमा सेन्टर बनाउन स्वास्थ्य मन्त्रालयले सक्दो सहयोग गर्ने बताए ।

आधारभूत जीवन रक्षाको कार्यक्रमको महत्त्व जहाँ पनि जहिले पनि रहेको बताउँदै यसलाई देशभरि पुर्‍याउनु पर्ने आवश्यकतामाथि बस्नेतले जोड दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily