गाेरखा- आरुघाट गाउँपालिकाले नीति तथा कार्यक्रम ल्याएको छ ।
गाउँपालिका अध्यक्ष राजु गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बुढिगण्डकी जलविद्युत आयोजनाका कारण डुबानमा पर्ने क्षेत्रको पुनर्वास, भूमिहीनलाई लालपुर्जा तथा एक वडा एक कृषि प्राविधिकलगायतका योजना समेट्दै नीति तथा कार्यक्रम ल्याएका हुन् ।
आइतबार बसेको पालिकाको १३औँ गाउँसभामा अध्यक्ष गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रम धेरै नयाँ योजना समेट्दै केही पूराना योजनासमेत थप गरेर नीति तथा कार्यक्रम ल्याएका छन् ।
बुढिगण्डकी जलविद्युत आयोजनाका कारण विकासमा पछि परेको पालिकाले यसबाट पर्ने सक्ने जोखिम न्यूनीकरणका लागि संघ र प्रदेश सरकारको सहयोगमा विभिन्न कार्यक्रमको अपेक्षा गरेको छ । जस्तो कि, पालिकाको प्रशासकीय भवन, क्याम्पस, सामुदायिक विद्यालय, इलाका प्रहरी कार्यालय तथा अन्य बजार क्षेत्रको उचित स्थान खोजी स्थानान्तरण प्रयास गर्ने उल्लेख रहेको छ ।
कृषकलाई सामूहिक रूपमा उत्पादनमुखी व्यवसायमा जोड, पालिकाले माटो परीक्षण गरी कृषि उपयुक्तताको आधारमा उत्पादनको लागि प्रदेश सरकार संघ सरकारको समन्वयमा पकेट, ब्लक एवं जोन उत्पादन क्षेत्र सञ्चालन गर्ने, हावापानी र माटो अनुसारको नगदे बाली उत्पादनमा कृषकलाई अभिप्रेरित गर्ने, कृषक वर्गीकरण कार्यक्रम गर्दै कृषक समूहको सूचीकरण गर्ने, एक वडा एक पशु प्राविधिक राख्न पहल गर्ने, विदेशमाबाट फर्किएका युवालाई कृषि तथा पशुपालन व्यवसायमा विकास गर्ने, एक कृषि तथा हाट बजार व्यवस्था गर्ने, पालिकामा कोल्ड स्टोर साथै पशु केन्द्र स्थापना गर्ने, दुग्ध सहकारी सञ्चालन गर्ने, पालिका भित्रका बाँझो जमिन राख्ने व्यक्तिलाई कृषि अनुदानका कार्यक्रम उपलब्ध नगराउने, एक विद्यालय, एक करेसाबारी स्थापना, तरकारीको सदुपयोग दिवा खाजामा उपयोगको मूल मन्त्रका साथ नमुना माद्यामिक विद्यालयमा आर्गनिक करेसाबारीको स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
वडा न ५ मा उद्योग ग्रामको घोषणाका लागि विशेष पहल गर्ने, उद्योग ग्राममा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने, पालिकाका सबै वडामा रहेका व्यवसाय दर्ताको दायरामा ल्याइ तथ्याङ्क अद्यावधिक गरी सबै उद्योग व्यवसायलाई करको दायरामा ल्याउने, संघ सरकारको अनुदानमा लघु उद्यम विकास कार्यक्रम गर्ने, पालिकाका विभिन्न स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने, पर्यटन विकासका लागि धार्चे गाउँपालिकासँग समन्वय र सहकार्यमा धुनिखोप झरनामा जिप लाइनको विकासका लागि अध्ययन गर्ने, पर्यटकीय क्षेत्रका पदमार्ग, प्राकृतिक स्थल र संरचनाको सम्भाव्यता अध्ययन गर्दै कार्यान्वयन जोड दिने लगायतका नीति तथा कार्यक्रम रहेका छन् ।
पर्यटन व्यवसायबाट पालिकाको राजश्व बुद्धि गर्ने साथै ट्रेकिङ गाइड तालिम तथा होमस्टेको विकास, विस्तार तथा दर्ता गरी होमस्टे सञ्चालक आवश्यक तालिमको व्यवस्था गर्ने नीति लिइएको छ ।
एक वडा एक पार्कको लक्ष्य लिई सोही अनुरूप कार्यक्रम निर्माण गर्ने, भूमिहीन सुकुम्वासी तथा अवस्थितता वसोवासीलाइ राज्यको नीति अनुरूप राष्ट्रिय भूमि आयोगमार्फत समस्या समाधान गर्दै जग्गाधनी पुर्जाको वितरण गर्ने, बुढिगण्डकी जलविद्युत आयोजनाका कारण डुबानमा पर्ने पालिकाको केन्द्र भवन, सामुदायिक विद्यालय, क्याम्पस, प्रहरी कार्यालयलगायतका सरकारी कार्यकालका लागि आवश्यक जग्गाको व्यवस्थापन गर्न संघ सरकारसंग पहल गर्ने, संघ सरकारको नीति अनुसार भू उपयोग ऐन तथा नियमावली अनुसार पालिकाका क्षेत्रका जग्गाको वर्गीकरण गरी कार्यान्वयनमा लैजाने, पालिकाको सीमा समाधान गर्न सम्बन्धित निकायसँग समन्वय गर्नेलागयतका छन् ।
सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने भौतिक संरचनाको निर्माण, विद्युतीय, इन्टरनेट जडानमार्फत प्रविधिमैत्री बनाइने उल्लेख छ ।
सट्टा शिक्षक तथा कर्मचारी व्यवस्थापनमा अनुदानलाई निरन्तरता दिने, स्थानीय भाषा कला संस्कृतिलगायतका आधारमा आधारभूत तहको स्थानीय पाठ्यक्रममा गुरुङ भाषालाई ऐच्छिक विषयको रूपमा सञ्चालन गर्ने, भीमोदय क्याम्पसलाई सरकारी क्याम्पसका रूपमा रूपान्तरण गर्न पहल गर्ने, दिवा खाजा कार्यक्रमलाई स्थानीय उत्पादनलाई प्राथमिकता दिदैं विद्यालयमा जंक फुड निषेध गर्ने, जलकुमारी माध्यमिक विद्यालय र भवानी माध्यमिक विद्यालयलाई आवासीय विद्यालयको रूपमा स्थापित गर्ने, पालिका भित्रमा विद्यालयबाट प्राविधिक पढ्न चाहने विद्यार्थीहरूलाई प्रति विद्यार्थी ५० हजार अनुदान उपलब्ध गराइने उल्लेख छ ।
पालिकाभित्र डम्पिङ साइट निर्माण गर्ने, फोहोरयुक्त : सरसफाइयुक्त वडा घोषणा गर्ने, पानी प्रशोधन प्लान्टको स्तर उन्नति गरी मिनिरल वाटर उत्पादन गर्न अन्य स्थानीय तहको साझेदारीमा पहल गर्नेलागयतका कार्यक्रम उल्लेख छ ।
प्रतिक्रिया