+
Search

ताजा अपडेट +

पपुलर +

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि राष्ट्रिय ध्वजावाहकको उडान

4KNationalDaily
२०८० जेष्ठ ३०, मंगलवार १०:१६ बजे

रुपन्देही- रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमले पहिलो पटक मलेसिया-भैरहवा-काठमाडौं व्यावसायिक उडान गरेको छ ।

एक वर्षअघि काठमाडाैंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेको निगमको जहाजले आज पहिलो पटक मलेसियाबाट उडान भरेको हो ।

मलेसियाको क्वालालम्पुरबाट आएको ९ एनएकेएक्स विमानलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवा विमानस्थलमा स्वागत गरेका छन् ।

आज बिहान मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवा आएको निगमको १ सय ५८ सिट क्षमताको न्यरोबडी बिमान अवतरण गरेको थियो ।

मलेसियाका पर्यटन व्यवसायीसहित आएको विमानलाई पर्यटन मन्त्री किराँती पर्यटन व्यवसायीहरूले स्वागत गरेका छन् ।

०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको करिब ४० अर्ब रुपैयाँ लगानीमा बनेको मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि व्यावसायिक उडान गर्नेमा कुवेतको जजिरा एयरलायन्स मात्रै थियो ।

जजिरापछि नेपाली लगानीकर्तासमेत रहेको हिमालय एयरलायन्सले कात्तिकमा मलेसिया चार्टर उडान गरेको थियो । हाल यी दुवै वायुसेवाले नियमित तथा चार्टर उडानलाई निरन्तरता दिएका छैनन् ।

निगमले गरेको पहिलो भैरहवा उडानमा निम्त्याइएका मलेसियाका पर्यटन व्यवसायीहरू भैरहवामा अवतरण भएपछि लुम्बिनी भ्रमण गरी काठमाडौं आएर मलेसिया फर्किने छन् ।

मलेसियाबाट भैरहवाको उडान समय ४ः४५ मिनेट हाराहारी रहेको छ । भैरहवामा यात्रु ओरालेर निगमको जहाज काठमाडौं गएको छ । न्यारोबडी विमानका लागि भैरहवाबाट काठमाडौं उडान समय २५ मिनेट हाराहारी लाग्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily