गाेरखा- अजिरकाेट गाउँपालिकाकाे भच्चेकमा भच्चेकमा वृहत स्वास्थ्य शिविर सुरू भएकाे छ ।
नेपाली सेनाको समन्वय र व्यवस्थापन एवं गाउँपालिकाको संयुक्त आयोजनामा वृहत स्वास्थ्य शिविर सुरु भएको हो ।
शिविरको पहिलो दिन हाडजोर्नी, स्त्री रोग, चर्म रोग, नाक, कान र घाँटी, आँखा, जनरल ओपिडि तथा अन्य विविध रोग सम्बन्धी समस्या भएका व्यक्तिको स्वास्थ्य परिक्षण गरिएको छ ।
स्वास्थ्य शिविरमा करिब चारसय जनालाई सहभागिता गराई विविध सचेतनामुलक कार्यक्रम समेत संचालन गरिएको पालिकाले जनाएकाे छ ।
कार्यक्रमकै अवसरमा भच्चेक बजारबाट काफलडांडा हुंदै लम्जुङ्ग जिल्ला जोड्ने बाटोको स्तरोन्नतिको लागि सेनाले आफ्नो नाममा रहेको जग्गा गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।
गाउँपालिका वडा नं ३ मा पर्ने ५३ रोपनीे जग्गामध्ये सडक विस्तारको लागि आवश्यक भच्चेक बजारबाट काफलडांडा जाने संगम स्थलबाट करिब दुई सय मिटर लम्बाइको ५ आना २ दाम जग्गा पालिकालाई हस्तान्तरण गरिएको हो ।
सेनाकाे नं. ३ बाहिनीपति सहायक रथी गौरव कुमार केसीद्वारा गाँउपालिका अध्यक्ष दिपक देवकोटालाई जग्गा हस्तान्तरण गरेका हुन् ।
भच्चेक बजारबाट काफलडांडा हुंदै लम्जुङ्ग जिल्ला जोड्ने उक्त सडक खण्ड स्तरोन्नती गरी सवारी आवागमन सुचारु भएको खण्डमा स्थानीयलाई सहज हुने र आर्थिक रुपमा समेत टेवा पुग्ने भएको जग्गा हस्तान्तरण गरिएको सेनाले जनाएकाे छ ।
प्रतिक्रिया