काठमाडौँ– अभिनेत्री नम्रता श्रेष्ठलाई नेपाली इतिहासको चर्चित राजनीतिक घटना कोतपर्वबारे बन्न लागेको फिल्म ‘कोतपर्व’का लागि प्रस्ताव गरिएको छ।
प्रस्ताव स्वीकार गरेको खण्डमा नम्रता यो फिल्मको शीर्ष भूमिकामा देखिने छिन्। माघ २१ गतेदेखि छायांकनमा जाने यो फिल्म रिमेश अधिकारीले निर्माण तथा निर्देशन गर्न लागेका हुन्।
रिमेक यतिबेला फिल्मका लागि कलाकार अनुबन्ध गर्ने चटारोमा छन्। फिल्मको लिड क्यारेक्टरका लागि रिमेशले राजेश हमाल र सौगात मल्ललाई प्रस्ताव गरेका छन्। तर यी दुवै कलाकारले सहमति जनाइसकेका भने छैनन्।
यसैबीच नम्रतासँगको भेटको तस्बिर सार्वजनिक भएको छ। जसका आधारमा नम्रता फिल्मका लागि सकारात्मक रहेको अनुमान गरिएको छ। निर्माता अधिकारी र नायिका श्रेष्ठको भेटको मध्यस्थता चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले गरेका छन्।
ऐतिहासिक कथावस्तुमा आधारित ‘नालापानी’पछि निर्देशक अधिकारी ‘कोतपर्व’को तयारीमा छन्। फिल्मको पटकथा महेश दवाडीले लेखिरहेका छन्।
प्रतिक्रिया