काठमाडौं । गायक प्रकाश सपूतले ‘सकम्बरी’ गीत सात दिनमा करोडपटक हेरिएकोमा सबै दर्शकलाई धन्यवाद दिएका छन् ।
उनले फेसबुकमा लामो स्टाटस लेख्दै माया र प्रशंसाले हौसला प्रदान गरेको तथा खबरदारीले सचेत गराएको उल्लेख गरेका छन् । साथै रात्रिकालीन मनोरन्जन व्यवसायी संघलाई सम्बोधन गर्दै गीत हटाउन सार्वजनिक गरिएको विज्ञप्तिको जवाफ पनि दिएका छन् ।
संघका अध्यक्षलाई सम्बोधन गर्दै गीतका पात्र र पात्रको पृष्ठभूमि तयार पार्दा रात्रिकालीन मनोरञ्जन क्षेत्रलाई छानिएको उल्लेख गरेका छन् ।
कथा निर्माणको प्रक्रियामा रात्रिकालीन व्यवसाय आएको तर, यसलाई आधिकारिक रिपोर्ट जस्तो गरी नबुझिदिन उल्लेख गर्दै उनले लेखेका छन्, ‘यसलाई कथा वा कला सामाग्रीको रूपमा बुझिदिनुहोला । यदि रात्रिकालीन मनोरञ्जन व्यवसाय (दोहोरी साँझ) हुँदैन थियो भने म एउटा कलाकारको रूपमा स्थापित हुँदिनँ थिएँ । म सधैँ ऋणी छु । साथै इमानदारिताका साथ भन्नुपर्दा यदि यो क्षेत्रमा काम गरेको अनुभव हुँदैन थियो भने सकम्बरीको कथा पनि मसँग हुँदैन थियो ।’
आफ्नो गीत र भिडिओलाई लिएर प्रेस विज्ञप्ति र अन्तर्वार्ताहरु आएपछि आफू अलिकति झस्किएको तर, अहिले रात्रिकालीन व्यवसाय व्यवस्थित र मर्यादित बनाउन व्यवसायीहरू संस्थागत भएर लागेका देख्दा खुसी लागेको उनले उल्लेख गरेका छन् । तर, आफूले विगतमा पाँच वर्षसम्म दोहोरी साँझमा काम गर्दा अपमानजनक व्यवहार खेपेको र थुप्रै नैतिक प्रश्नहरुको सामाना गरेको पनि बताएका छन् ।
‘समग्रमा क्षेत्र राम्रो, नराम्रो भन्दा पनि हामीभित्र राम्रा, नराम्रा पक्ष र प्रवृत्ति छन् । त्यसमाथि बाहिरबाट हेर्ने समाजको दृष्टिकोण झनै भयंकर पक्षपाति छ,’ उनले थप लेखेका छन्, ‘हामी सबैको साझा उद्देश्य समस्या समाभान हो । मर्यादिन र सफल व्यवसाय गर्ने, रोजगारी सृजना गर्ने, आर्थिक रुपमा सम्पन्न, हिंसारहित, विभेदरहित समाजको निर्माण गर्ने नै तपाईं हाम्रो प्रयास हो ।’
प्रतिक्रिया