काठमाडाैं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मतको बदलामा नेपाली कांग्रेसलाई केही दिने सहमति नभएको बताएका छन्।
प्रतिनिधिसभामा मंगलबार विश्वासको मत पाएपछि संसदबाट निस्कन बेला प्रचण्डले आज पाएको विश्वासको मतले जिम्मेवारी थपिएको बताए।
प्रधानमन्त्री प्रचण्डलाई २६८ जना सांसदले विश्वासको मत दिएका छन्। आजको बैठकमा २७० सांसद उपस्थित थिए।
कांग्रेसले पनि विश्वासको मत दिएपछि अहिले विभिन्न कोणबाट टिप्पणी भइरहेका छन्। प्रधानमन्त्री प्रचण्डले भने विश्वासको मतको बदलामा कांग्रेसलाई केही दिने सहमति नभएको बताएका हुन्।
प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मत दिएका थिए ।
प्रधानमन्त्रीलाई नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने विश्वासको मत दिएनन् ।
प्रतिक्रिया