पोखरा- नेपाली कांग्रेसले गण्डकीमा संसदीय दलको नेता पुस १२ गते चयन गर्ने भएको छ । कांग्रेस गण्डकीको पदाधिकारी बैठकले दलको नेता चयन गर्न निर्वाचन समिति गठन गरेको छ ।
संसदीय दलको नेता छान्न महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा समिति गठन भएको हो । समितिमा सहमहामन्त्री रमेश पाण्डे र कोपिला रानाभाट सदस्य छन् । कानुनी सहरीकरणका लागि डीएलएका प्रदेश अध्यक्ष फडिन्द्र कोइराला र जिल्ला अध्यक्ष कपिलमणि दाहाल चुनिएका छन् ।
त्यसअघि सर्वसम्मत नेता चयनका लागि प्रदेश सभापति शुक्रराज शर्माको संयोजकत्वमा सहजीकरण समिति गठन भएको छ । समितिमा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्री किरणबाबु श्रेष्ठ र सहमहामन्त्री रामचन्द्र जोशी सदस्य छन् ।
सुरुमा सल्लाहमै नेतृत्व चयन गर्ने र नभए निर्वाचनमा जाने महामन्त्री लामिछानेले बताए । उनका अनुसार निर्वाचन प्रक्रिया शुक्रवार देखि नै सुरु भएको छ ।
यहाँ संस्थापन पक्षबाट केन्द्रीय सदस्य समेत रहेका सांसद सुरेन्द्र पाण्डेलाई प्रमुख दाबेदार ठानिएको छ । यद्यपि सोही समूहबाट कास्कीका विन्दुकुमार थापा पनि दाबेदार छन् ।
संस्थापन इतरबाट भोजराज अर्याल प्रमुख दाबेदार हुन् । अर्का नेता महेन्द्र ध्वज जिसीको पनि दाबी छ । यद्यपि निर्वाचनमै गए दुई जना मात्रै प्रतिस्पर्धी हुने बताइन्छ ।
चार जनाको दाबी, कसले मार्ला बाजी!
प्रतिस्पर्धी धेरै देखिए पनि अन्त्यमा पाण्डे र जिसीबिच प्रतिस्पर्धा हुने कांग्रेस निकट श्रोत बताउँछ। पाण्डे देउवाका विश्वास पात्र हुन् भने जिसी पौडेलका विश्वास पात्र हुन्। देउवा पक्षबाट पाण्डे सर्वसम्मत हुने भनिए पनि थापाले दाबी छाडेका छैनन्। थापा प्रधानमन्त्री पत्नी आरजु देउवाका विश्वास पात्र हुन।
निर्वाचनमा टिकट पनि उनैले दिलाएको र मुख्यमन्त्री बनाउने आश्वासन दिएको थापा निकट श्रोतको दाबी छ। यद्यपि कांग्रेसमा पाण्डे प्रभावशाली नेता मानिन्छन् भने उनलाई देउवाले मुख्यमन्त्री बनाउने आश्वासन दिएरै प्रदेश सभा सदस्यमा कन्भिन्स गरेर पठाएको श्रोत बताउँछ।
संस्थापन इतरका जिसी पनि प्रभावशाली नेता हुन्। पौडेल समूहका उनी कांग्रेस नवलपुरका सभापति समेत हुन्। जिसीले आफ्नो पक्षको बहुमत भएकाले आफू नै संसदीय दलको नेता बन्ने दाबी गरेका छन्।
तर संस्थापन पक्ष भने संस्थापन इतरमा बहुमत नभएको दाबी गर्छ। संस्थापन निकट श्रोत भन्छ, ‘निर्वाचन नभएसम्म कसको बहुमत छ भनेर कसले भन्ने सक्छ र? भोलि प्रतिस्पर्धामा गएपछि थाहा भई हाल्छ नि कता बहुमत छ भनेर।’ उक्त श्रोतका अनुसार इतर पक्षका सांसद चोरेर बहुमत पु¥याउने पक्षमा संस्थापन पक्ष छ।
प्रतिक्रिया