काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले स्वास्थ्य बिमा निजी क्षेत्रलाई दिन नमिल्ने बताएका छन्।
सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रले शनिबार आयोजना गरेको कार्यक्रममा उनले निजी क्षेत्रलाई स्वास्थ्य बिमा दिए त्यो बिमा नै नरहने जिकिर गरे।
स्वास्थ्य बिमाको पहुँच सबैमा पुर्याउने लक्ष्यका साथ कार्यक्रम ल्याएको भन्दै महामन्त्री थापाले स्वास्थ्य बिमा भनेको सामाजिक स्वास्थ्य सुरक्षाको मुदा भएको बताए।
नागरिकको स्वास्थ्यमा हुने खर्च घटाउन सके मात्रै सरकारले स्वास्थ्य प्रणाली जोगाउन सक्ने उनको भनाइ थियो।
महामन्त्री थापाले सरकार स्वास्थ्य प्रणालीको सुधार गर्नुपर्ने ठाउँमा कति अस्पताल बनाउने र शिलान्यास गर्ने भन्ने कुरामा केन्द्रित हुने गरेको बताए।
उनले स्वास्थ्य प्रणालीलाई नै अहिले अस्पतालमा लगेर जोडेको भन्दै स्वास्थ्य प्रणाली नै अस्पताल हो भन्ने भ्रमबाट बाहिर निस्किनुपर्नेमा जोड दिए।
‘सरकारले खाली कति वटा अस्पताल बनाउने भन्ने कुरा मात्रै टिप्यो र अस्पतालको शिलान्यास भयो,’ पूर्व स्वास्थ्यमन्त्री थापाले भने, ‘हामीले हेल्थ सिस्टमलाई नै अस्पतालमा लगेर जोडेका छौँ। त्यसबाट बाहिर निस्किनुपर्छ। नभए हामी गलत बाटोमा जान्छौँ।’
उनले स्वास्थ्यमा हुने खर्च घटाउने गरी प्राथमिक स्वास्थ्यको संरचना बनाएर काम गर्नुपर्ने पनि बताए।
‘हामीले सकेसम्म स्वास्थ्यमा हुने खर्च घटाउने गरेर हेल्थ सिस्टम विकास गर्न सकेनौँ भने, प्राथमिक स्वास्थ्यको संरचना बनाएर काम गर्न सकेनौँ भने हामीले थेग्नै सक्दैनौँ,’ थापाले भने।
प्रतिक्रिया