+
Search

ताजा अपडेट +

पपुलर +

छाेप्राककाे जनज्याेति आधारभूत विद्यालयमा ‘आर्थिक अनियमितत्ता’काे आंशाका

लीलाधर काेइराला
२०७९ जेष्ठ २९, आईतवार २०:२५ बजे

गोरखा– गोरखा भूकम्पपछि जिल्लाका करिब ३०० भन्दा बढी सामुदायिक विद्यालय पुन निर्माण भए । ती कुनै दाताको सहयोगमा निर्माण भयो त कुनै हाल खारेज भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई मार्फत ।

गगनचुम्बी विद्यालय भवन निर्माण भए पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर भएको, विद्यार्थीको संख्या कम भएको भन्दै बेलाबखत चर्चा हुन्छ । तर, विद्यार्थी थोरै भए पनि इकाई मार्फत निर्माण भएका जिल्लाका धेरै विद्यालय भवन निर्माण गर्दा आर्थिक अनियमितता भएको तथ्य सार्वजनिक भइरहेको छ ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाईले विद्यालय व्यवस्थापन समितिमार्फत हुने विद्यालय भवन पुनर्निर्माण, गैरसरकारी संस्थामार्फत हुने विद्यालय पुनर्निर्माण र निर्माण व्यवसायी मार्फत हुने विद्यालय पुनर्निर्माण भनेर तीन प्रकारमा वर्गीकरण गरेको थियो। जसमध्ये ८० लाख भन्दा कम लागतमा निर्माण हुने भवन विद्यालय व्यवस्थापन समितिले निर्माण गर्ने उल्लेख गरेको तियो ।

तर, ठेक्का लगाउँदा ठेकेदार मार्फत लगाएर फेरि विद्यालय व्यवस्थापन समितिले भवन निर्माण गर्दा जिल्लाका अन्य केयाैं सामुदायिक विद्यालयमा आर्थिक अनियमितता भएको खुलासा भएको छ । त्यसको एक उदाहरण हो- सिरानचाेक गाउँपालिका-४ जैसिथोककाे जनज्योति आधारभूत विद्यालय ।

जिल्ला आयोजना कार्यान्वयन इकाईले जैसिथाेककाे आठ कोठे विद्यालय भवन पुन निर्माणका लागि आर्थिक वर्ष २०७४/०७५ मा करिब  १ करोड २० लाख बजेट दियो । सुरुमा चितवन घर भएका सुदर्शन गौतमको शिव एड कम्पनी ठेकेदार कम्पनीका रूपमा भित्रिए । हाल भवन निर्माणको काम सम्पन्न भएको एक वर्ष भए पनि यसको आर्थिक पाटो फर्याैट नहुँदा विद्यालयको भवन निर्माणमा आर्थिक अनियमितता भएको आरोप छ ।

समाचार स्रोतका अनुसार ठेकेदार गौतम ठेक्का पाएपछि केही समयमा नै विद्यालय भवन निर्माण गर्न नसक्ने भन्दै पन्छिए । उनले विद्यालयको भवन र एक सामुदायिक भवन निर्माणको ठेक्का एकै समय पाए । उनले निर्माण गरेको विद्यालयको भवन र सामुदायिक भवन एकै चोटि निर्माणको काम थालनी गरे ।

उनी पन्छिएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज पोखरेल नयाँ ठेकेदारका रूपमा भित्रिए । पदीय हिसाबले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका पोखरेल विद्यालयको भवन निर्माण गरेको भए पनि निर्माण सामाग्री लिएका केयाैं पसलमा तिर्नु रकम समयमा नै नदिएकाले उनले आर्थिक अनियमितता गरेको चर्चा छाेप्राकमा छ ।

उनले चाेरकाटेमा रहेको राजन हार्डवरसंग विभिन्न मितिमा भवन निर्माण सामाग्री मगाए । भवन निमार्णकाे काम सकिएको चार वर्षसम्म पनि उनले पैसा दिएनन् । ‘गाउँको विद्यालय, उहाँ (खेमराज सर)ले निर्माण सामग्री चाहियो, पठाइदिन भनेपछि मैले समान पठाए,’हार्डवेयर सञ्चालक राजन श्रेष्ठ भन्छन् ‘तर आज चार वर्ष बितिसक्यो, मैले पैसा पाएको छैन ।’

विद्यालयका प्रधानाध्यापक राजेन्द्र पोखरेल तथा अध्यक्ष पोखरेल भवन निर्माण सम्पन्न भएको भन्दै जिल्ला आयोजना कार्यान्वयन इकाइबाट पैसा फर्याैट गरी रकम लिएको भए पनि समयमा नै निर्माण सामाग्री तथा कामदारलाई पैसा लिन नसक्दा अनियमितता भएको शंका गरेका हुन् ।

तर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पोखरेल भने विद्यालय निर्माणका क्रममा जग्गादेखि चन्दासमेत आफूहरूले उपलब्ध गराएकाले विद्यालयको रकम अपचलन नगरेको तर्क गर्छन् । भन्छन्– ‘उक्त विद्यालयको भवन निर्माण देखि जग्गा पनि हामीले नै उपलब्ध गराएका हौँ । म त उक्त विद्यालयको पहिलो व्याँजी नै हुँ । उक्त विद्यालयको जग्गासमेत हाम्रो नै परिवारले उपलब्ध गराउनु भएको हो । त्यसैले शिक्षाको मन्दिर मानिएको विद्यालयको रकममा हामीले अपलन गरौँ भन्ने लाग्दैन र त्यतिसम्म गर्न पर्दैनन् ।’

समाचार स्रोतका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र ठेकेदार गौतमको भित्री साइनो छ । उनीहरूको चितवनमा समेत सँगै जग्गा रहेको दाबी छ । तर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भने आफू र ठेकेदारसँगको सम्बन्ध नभएको दाबी गर्छन् ।

‘उहाँ र मेरो चिनजान त भवन निर्माणको क्रममा भएको हो,’ उनले भने ‘उहाँलाई खोज्न हामी जिल्ला प्रशासन कार्यालय गोरखा हुदैं चितवन प्रशासनसम्म पुगेका थियौँ । केयौं पटक फोन सम्पर्क गर्दासम्म भेट्न नसकिएपछि उहाँको घर पुगेर हामी चाँडौं नै रकम तिर्ने सर्तमा फर्किएका हौँ ।’

उनका अनुसार ठेकेदार गौतमले मङ्सिर-पुसतिरकाे करिब चार लाखको एक चेक विद्यालयलाई उपलब्ध गराएका छन् । एकलाखकाे चेक चाहिँ तत्काल साट्न सकिन्छ । ‘जिल्ला प्रशासन मार्फत उहाँलाई भेट्न हामी चितवनसम्म पुगेका थियौँ । उहाँसँगको भेटपछि चेक लिएर त आएका छौँ । तर, यो विवाद कसरी हल गर्न अन्योलमा परेका छौँ ।’

‘विद्यालय भवन निर्माणका क्रममा ठेकेदारले बदमासी गरेकाले हाल विद्यालय व्यवस्थापन समिति र मलाई नैतिक जिम्मेवार बनाएका छन्,’ उनको गुनासो छ ‘तत्कालीन सिरानचाेक गाउँपालिका अध्यक्ष राजु गुरुङ, उपाध्यक्ष रिता देवकोटा तथा वडाध्यक्ष दीपक हमाल हुदैं प्रमुख जिल्ला अधिकारी (सिडीयाे) सालिकराम शर्मा पौडेलसम्म विषय पुगेको तियो । तर, उहाँहरूलेसमेत हल गर्न सक्नुभएन ।’

विद्यालयका अनुसार तत्कालीन समयमा यो मुद्दा पालिकाको न्यायिक समितिमा समेत दर्ता भएको तियो । न्यायिक समितिले केही शक्तिको दबाबका कारण उक्त मुद्दा हल गर्न नसकेको दाबी गर्छन् ।

‘भवन निर्माण भएसँगै हरेक वर्ष विद्यालयको लेखापरिक्षण भइरहेको छ । लेखा परीक्षण गर्दा कतै आर्थिक रूपमा हिनामिना गरौँ भनेर भन्न सकेको छैन । ठेकेदार गौतमले विद्यालय भवन निर्माण गर्ने भन्दै सामुदायिक भवन निर्माण गर्दा करिब ८ लाख रकम विद्यालयको नामबाट गएको देखिन जान्छ’ स्रोत भन्छन् ‘ यो विद्यालयको नाममा समान ल्याएर केही शक्ति केन्द्रहरूले सामुदायिक भवन निर्माण गर्नुभयो । अनि रकम चाहिँ विद्यालयको नाममा जोडिन पुग्यो । त्यसैले यो अवस्था हुन पुगेको हो ।’

ठेकेदार गौतम र प्रधानाध्यापक पोखरेलसँग सम्पर्क हुन सकेन ।

प्रतिक्रिया

लेखकको बारेमा

लीलाधर काेइराला