गोरखा– अरु स्थानीय तहमा गठबन्धन गरेर उम्मेदवारी दिएको माओवादी गोरखामा भने एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो। जहाँ माओवादीले सफलता हात पारेको छ । २०६४ सालकै हाराहारीमा माओवादीले नतिजा निकालेको छ।
गोरखाका ११ पालिकाहरु मध्ये यो समाचार तयार पार्दासम्म १० पालिकाहरुको नतिजा आइसकेको छ। जसमध्ये ८ पालिकाहरुमा माओवादी केन्द्र विजयी भएको छ। २ पालिकामा कांग्रेस विजयी भएको छ भने १ पालिकाको मत गणना भइरहेको छ।
अघिल्लो (२०७४) स्थानीय तहको चुनावमा २ पालिकामा खुम्चिएको माओवादीको आयतन यो पटक भने तन्किएर ९ पालिकामा पुगिसकेको छ। अघिल्लो चुनावमा कांग्रेसले जितेका ७ पालिकाहरु खोस्दै माओवादीले कांग्रेसलाई २ पालिकामा सीमित गरेको छ।
अघिल्लो स्थानीय तहको चुनावमा कांग्रेसले जितेको धार्चे गाउँपालिकाको प्रमुखमा त यो पटक माओवादीले झण्डै दोब्बर मतान्तरले चुनाव जितेको छ। ३ हजार ७७१ मत ल्याएर माओवादीका लक्ष्मण गुरुङ गाउँपालिका प्रमुखमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सन्तबहादुर गुरुङले १ हजार ९४६ मत ल्याए। उपप्रमुख पनि माओवादीले नै जितेको छ।

शहिद लखन गाउँपालिकामा निर्वािचत अध्यक्ष र उपाध्यक्ष
अजिरकोट गाउँपालिका पनि माओवादीले कांग्रेसबाटै खोसेको हो। यो गाउँपालिकाको प्रमुख/उपप्रमुख पनि माओवादीले आफ्नो पोल्टामा पारेको छ। प्रमुखमा दीपक देवकोटा ३ हजार ७८७ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गोविन्दबहादुर गुरुङले ३ हजार २८९ मत ल्याए।
बारपाक सुलिकोट गाउँपालिका भने अघिल्लो स्थानीय तहको चुनावमा पनि माओवादीले नै जितेको थियो। यो पटक पनि माओवादी केन्द्र नै विजयी भएको छ। कांग्रेसलाई पछि पार्दै ५ हजार ५१९ मतका साथ माओवादीका विष्णुप्रसाद भट्ट गाउँपालिका प्रमुखमा विजयी भए।
भीमसेनथापा गाउँपालिकामा पनि माओवादी नै विजयी भएको छ। ५ हजार ६५१ मतका साथ माओवादीका लोकप्रसाद बन्जारा विजयी हुँदा कांग्रेसका रोशन गुरुङले ५ हजार १७६ मत ल्याए। यो गाउँपालिका पनि माओवादीले कांग्रेसबाटै खोसेको हो।
सदरमुकाम रहेको गोरखा नगरपालिकामा पनि माओवादीकै दबदबा देखियो। अघिल्लो चुनावमा कांग्रेससँग हारेको बदला लिँदै गोरखा नगरपालिकामा पनि माओवादी विजयी भयो। अघिल्लो चुनावमा माओवादीका मेयरका उम्मेदवार कृष्णबहादुर राना कांग्रेसका उम्मेदवार राजनराज पन्तसँग पराजित भएका थिए।

अजिरकाेट गाउँपालिकामा निर्वािचत अध्यक्ष र उपाध्यक्ष
अहिले भने परिस्थिती ठ्याक्कै उल्टो भयो। पुनः मेयरमा पन्त र रानाको भिडन्त भएको थियो। जहाँ रानाले पन्तसँग अघिल्लो हारको बदला लिए। पन्तलाई १ हजार ८५६ मतान्तरले हराउँदै राना विजयी भए। रानाले ८ हजार ९६४ मत ल्याउँदा पन्तले ७ हजार १०८ मत ल्याए।
पालुङटार नगरपालिकामा माओवादी विजयी भएको छ। माओवादीका विवस चिन्तन ६ हजार ७२ मतका साथ विजयी भए। उनका प्रतिस्पर्धी जनता समाजवादीका प्रेमबहादुर गुरुङले ५ हजार ७१७ मत ल्याए। यो नगरपालिका समेत माओवादीले कांग्रेसबाट खोसेको हो।
शहिद लखन गाउँपालिका यसअघि पनि माओवादीले नै जितेको गाउँपालिका हो। यो पटक पनि माओवादीले १ हजारभन्दा बढी मतान्तरले जितेको छ।
यसअघि कांग्रेसले जितेको गण्डकी गाउँपालिका पनि माओवादीले आफ्नो पोल्टामा पारेको छ। माओवादीका दीपक तिमिल्सिना ६ हजार ३२६ मत ल्याएर विजयी हुँदा कांग्रेसका होमबहादुर रानाले ४ हजार ६५५ मत ल्याए।
अन्य पालिकाहरुमा आफ्नो दबदबा कायम राखेको माओवादीको आरुघाट गाउँपालिकामा भने उपस्थित कमजोर देखियो। कांग्रेसका उम्मेदवार ५ हजार ५५६ मत ल्याएर विजयी हुँदा तेस्रो भएको माओवादीले जम्मा ९१० मत मात्रै ल्याउन सक्यो।
आरुघाट यसअघि पनि कांग्रेसले नै जितेको थियो। त्यसबेला १ हजार ९५२ मत ल्याएको माओवादी पहिलाको भन्दा झण्डै हजार मत कममा खुम्चिन पुगेको छ।
सिरानचोक गाउँपालिकामा कांग्रेस विजयी भएको छ। कांग्रेस उम्मेदवार ज्ञानेन्द्र गुरुङ ५ हजार ४०३ मतसहित विजयी हुँदा माओवादी केन्द्रका नवराज पुडासैनीले ४ हजार १६८ मत पाएका छन्। यसअघि पनि उक्त गाउँपालिका कांग्रेसले जितेको थियो।
अघिल्लो स्थानीय तहको चुनावमा कांग्रेसले जितेको चुमनुव्री गाउँपालिका अहिलेसम्मको मत गणना अनुसार माओवादी अग्रस्थानमै छ। उसलाई कांग्रेसले पछ्याइरहेको छ।
प्रतिक्रिया